Logo

त्रिभुवन विमानस्थलबाट नौं किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट नौं किलो सुनसहित क्यानडेली नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन विमानस्थलबाट नौं किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

मोहमदलाई ९ किलो १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका एक किलो भन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

पछिल्लो समय सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आएको अनुसन्धानमा देखिएको छ । यसअघि १९ किलो सुनसहित प्रहरीले गत महिना दुई सुडानी नागरिकलाई पक्राउ गरेको थियो । बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने आशंका गरिएको छ । सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्