Logo

१० हजार सवारीसाधनका ३ सय समिति, जताततै कार्टेलिङ

१० हजार सवारीसाधनका ३ सय समिति, जताततै कार्टेलिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सवारीसाधन संचालनका लागि जथाभावी संघसंस्था खोल्दा यातायात क्षेत्र झन अव्यवस्थित हुँदै गएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बताएको छ । पछिल्लो समय यातायात क्षेत्र अव्यवस्थित र अराजक बन्दै गएको मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले जानकारी दिए ।

विशेषगरी काठमाडौं उपत्यकाको यातायात क्षेत्र अव्यवस्थित र अराजक भएको समेत उनको भनाइ थियो । ‘काठमाडौंमा ट्याक्सी वाहेक १० हजार यात्रुवाहक सार्वजनिक सवारीसाधन संचानलमा छन्,’ उनले भने, ‘तर, त्यसलाई संचालन गर्ने नाममा ३ सयभन्दा बढी संघ संस्थाहरु खुलेका छन् ।’ सवारीसाधनको व्यवस्थित गर्ने नाममा कार्टेलिङ भइरहेको समेत उनले जानकारी दिए ।

यातायात क्षेत्रमा ठूलो कार्टेलिङ रहेको भन्दै त्यसलाई १ वर्षभित्र हटाउने उनले बताए । अहिले कुनै पनि रुटमा सवारीसाधन संचालन गर्नु पर्यो भने त्यस क्षेत्रका समितिलाई माटो रकम दिएर सहमति लिनुपर्ने वाध्य भएको भन्दै त्यसलाई यथासक्दो छिटो अन्त्य गरिने उनको दावी थियो । कानुनी रुपमा सर्वोच्च अदालतले २०६७ सालमै यातायात क्षेत्रको कार्टेलिङ अन्त्य गरिसकेको छ । तर, यातायात व्यवसायीले आफुखुशी कार्टेलिङ गर्दै आएका छन् ।

हाल काठमाडौं उपत्यकामा २ सयभन्दा बढी सवारी रुटहरु रहेका छन् । भर्खर बनेका र साना–साना क्षेत्रमा पनि रुट संचालन गरिदा झन बढी समस्या उत्पन्न भएको छ । जलसले गर्दा ट्राफिक जाम समेत बढेको छ । तसर्थ आगामी दिनमा त्यस्ता रुटलाई समेत घटाइने मन्त्रालयले जानकारी दिएको छ ।

तर, व्यवसायीहरु भने संघसंस्थाले कार्टेलिङ नगरेको दावी गर्छन । यातायात क्षेत्र व्यवस्थित गर्नका लागि सो सम्बन्धी संघसंस्थाको आवश्यकता भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले बताए । ‘व्यवसायीले सरकारको ऐन कानुन भित्र रहेर विभिन्न संघसंस्था तथा समिति दर्ता गरेका हुन्छन्,’ उनले भने, ‘त्यसले कसरी कार्टेलिङ गर्छ ।’ व्यक्ति पिच्छे गाडी संचालन गर्दा झन बढी समस्या हुने भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि संघसंस्थाको आवश्यकता भएको उनको दावी छ ।

संघसंस्थाले दुर्घटना हुँदको समयमा उपचार खर्च दिनका लागि समितिमा बस्न चाहने व्यक्तिसँग पैसा लिन गरेको समेत उनले बताए । ‘एक जना यात्रु दुर्घटनामा पर्दा बीमाले बढीमा २ लाख रुपैयाँ उपलब्ध गराउँछ,’ उनले भने, ‘त्यसको उपचारको लागि १० लाख रुपैयाँभन्दा बढी लाग्छ त्यो रकम कसले दिन्छ ?’

प्रतिक्रिया दिनुहोस्
MBL