Logo

हिउँदे बालीका लागि ४३ हजार मेट्रिक टन मल मौज्दात छ : कृषि मन्त्रालय

हिउँदे बालीका लागि ४३ हजार मेट्रिक टन मल मौज्दात छ : कृषि मन्त्रालय



काठमाडौं । हिउँदे बालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार ७ सय ६४ मेट्रिक टन युरिया, १९ हजार २ सय ८६ मेट्रिक टन डीएपी र १ हजार ९ सय ३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार नौ सय ८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिए ।

मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार ४ सय ४९ मेट्रिक टन मौज्दात छ । जसमा १५ हजार एक सय ७९ मेट्रिक टन युरिया, १८ हजार चार सय ३२ मेट्रिक टन डिएपी र १ हजार ८ सय ३७ मेट्रिक टन पोटास छ ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग ६ हजार ५ सय ६४ मेट्रिक टन युरिया, आठ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार ५ सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।

चालु आर्थिक वर्ष २०७९÷८० का लागि मल खरिद गर्न सरकारले १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् २ लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर आह्वान भएको थियो । जसमा एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार ५ सय मेट्रिक टन बिक्रीसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कृषि सामग्री कम्पनी लिमिटेड ५७ हजार दुई सय १२ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेका छन् ।

साथै, २० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता नेपाल आइपुग्ने पनि कृषि मन्त्रालयले जनाएको छ । टेन्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा नेपाल आइपुग्ने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मन्त्रालयलाई दिएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन रासायनिक मलमध्ये पाँच हजार मेट्रिक टन भैरहवा र वीरगञ्ज नाकामा आइसकेको तथा १० हजार मेट्रिक टन मल विशाखापटनमबाट नेपालका लागि निकासी भैसकेको पनि मन्त्रालयको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्