Logo

मुरारका भन्छन्, सरकार नियन्त्रित अर्थव्यवस्था तर्फ उन्मुख हुँदैछ

मुरारका भन्छन्, सरकार नियन्त्रित अर्थव्यवस्था तर्फ उन्मुख हुँदैछ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकार नियन्त्रित अर्थव्यवस्था तर्फ उन्मुख भएको आरोप लगाएका छन् । पछिल्लो समय प्रहरीले व्यवसायीलाई अनावश्यक रुपमा पक्रन थालेको भन्दै उक्त आरोप लगाएका हुन् । ‘सरकारले ६ दशक पुरानो नियन्त्रणमुखी कोलोबजारी ऐनलाई अगाडी सारेर व्यवसायीलाई कारवाही गरिरहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघको ५० औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उनले भने, ‘जसले गर्दा व्यवसायीहरु अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रन सकेका छैनन् ।’

पछिल्लो समय व्यवसायीमा आशंका र त्रास फैलिएको भन्दै उक्त ऐन खारज नै गर्नुपर्ने बताए । साथै, विद्युत प्राधिकरण र नेपाल आयल निगमजस्ता निकायले आफ्ना उद्देश्य हासिलमा पूर्ण रुपमा असफल भएको भन्दै त्यस्ता संस्थाको एकाधिकार अन्त्य हुनुपर्ने उनको भनाइ थियो । ‘सरकार प्राधिकरण र निगमका लागि हो वा जनताका लागि ?,’ उनले भने, ‘यदि सरकारले जनताको हितका सोच्ने हो भने उद्देश्य हिन त्यस्ता संस्थाको खारेजी गर्नुपर्छ ।’

देशमा रोजगारी सिर्जना गरी आर्थिक विकास गर्न वर्षौदेखि अल्झिएको ऐन नियमलाई अध्यादेशमार्फत भए पनि ल्याउनुपर्ने उनको धारणा थियो । साथै, अर्थतन्त्रमा लगानीलाई कुल ग्राह्स्थ्यको कम्तिमा ४० प्रतिशतको हाराहारीमा पुर्याउनु पर्ने निजी क्षेत्रको माग छ । लगानी बृद्धिको विद्युत ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी ऐनलाई तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार व्यवसायीका जायज माग पुरा गर्न तयार रहेको जानकारी दिँदै हातेमालो गरी अघि बढ्न तयार रहेको बताए । ‘देशमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि सरकार लागिपरेको छ,’ उनले भने, ‘तसर्थ पुराना ऐन नियमलाई समय सापेक्ष परिमार्जन गरिने छ ।’
नेपाल कृषि प्रधान मुलुक भएको र देशका लागि आवश्यक खाद्यान्न स्वदेशमै उत्पादन गर्नुपर्ने उनको धारणा थियो । ‘निर्यात भन्दा पनि आफुलाई चाहिने खाद्यान्न उत्पादन गर्न सक्यौ भने त्यसले व्यापार घाटालाई कम गर्ने छ,’ उनले भने ।

५० वर्षको अवसरमा महासंघले उद्योग व्यवसाय सम्बन्धी जानकारी दिने मोवाइल एप सार्वजनिक गरेको छ । महासंघको स्वर्ण महोत्सवको लोगो समेत सार्वजनिक गरिएिको थियो । कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याए वापत नगद पुरस्कार सहित सम्मान गरेको थियो । यसैगरी, विभिन्न विधामा उत्कृष्ट १८ वटा उद्योग वाणिज्य संघ तथा बस्तुगत संघलाई पुरस्कृत गरेको छ । यसैगरी महासंघमा २५ वर्षभन्दा बढी काम गर्ने विकास बज्राचार्य र रामेश्वर प्रधानलाई पुरस्कृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL