Logo

उपत्यकामा बध गर्न नपाइने, दैनिक २ हजार राँगा/खसी र ७० हजार कुखुरा बाहिरबाटै

उपत्यकामा बध गर्न नपाइने, दैनिक २ हजार राँगा/खसी र ७० हजार कुखुरा बाहिरबाटै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा बध गर्न नदिने भएपछि दैनिक २ हजार भन्दा बढी राँगा तथा खसीबोकाको मासु बाहिरबाट प्याकिङ गरेर ल्याउनुपर्ने भएको छ । उपत्यकामा दैनिक ५ सय राँगा भैसी र १ हजार ५ सय खसीबोकाको मासु खपत हुँदै आएको छ । महानगरको उक्त निणर्यसँगै बाहिरबाटै बध गरेर उपत्यकामा मासु भित्र्याउनुपर्ने भएको हो ।

महानगरका अनुसार उपत्यका ७० हजार कुखुरा, ७ हजार किलो माछा र १ सय ५० ओटा जिउँदा सुँगुर भित्रने गरेको छ । उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले मासुजन्य जनावरबाट निस्कने फोहर वाहिरी जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगामी दिनमा मासुजन्य वस्तुबाट निष्कने मलमुत्र, हड्डी, छाला, रौँलगायतका फोहरको व्यवस्थापन गरेर मात्र उपात्यकामा मासु भित्र्याइन दिइने छ ।
उपत्यकाबासीलाई सफा मासु उपलब्ध गराउने उद्देश्य अनुरुप यस्तो व्यवस्था गर्न लागेको बताइएको छ । त्यस्तै हाल मासु काटिँदै आएको उपत्यकाका केही स्थानमा कोल्ड स्टोरको व्यवस्था गरिने समेत श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौंको विष्णुमती र बागमती नदीको किनारमा राँगा तथा भैसीको बधशाला बनाई मासु तयार गरिँदै आएको छ ।

उपत्यकामा हेटौडा, वीरगन्ज, बारा, चितवन, धादिङ तथा नुवाकोटबाट मासुजन्य जनावर आयात हँुँदै आएको छ । काठमाडौ उपत्यकामाभन्दा अन्य जिल्लामा फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान हुने भएको हुँदा यस किसिमको निर्णय गरिएको महानगरले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल कुखुराको मासुमा आत्मनिर्भर भएपनि खसी–बोकामा ७० प्रतिशत तथा राँगामा ६० प्रतिशत मासु भारतबाट आयात हुने गरेको छ ।

यसैबीच, महानगरपालिकाले काठमाडौ उपत्यका र उपत्यका बाहिर रहेका बधशालाको अनुगमन गर्ने भएको छ । अनुगमनको क्रममा अव्यवस्थित रहेका बधशालालाई व्यवस्थापन गर्न लगाइने पनि महानगरले जानकारी दिएको छ । महानगरले हालै काठमाडौं, ललितपुर तथा भक्तपुरका केही मासुपसलको अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा अधिकांश मासु पसलले खान अयोग्य मासु बेचेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL