Logo

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, १९ कम्पनीले ३ महिनामै उठाए पौने ११ अर्ब

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, १९ कम्पनीले ३ महिनामै उठाए पौने ११ अर्ब



काठमाडौं । नेपालको निर्जीवन बीमा व्यवसायको ठुलो हिस्सा नै मोटर बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार गत साउनदेखि असोज मसान्तसम्म नेपालमा संचालित १९ निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखमार्फत मात्रै ३ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ३१ प्रतिशत हुन आउँछ ।

चालु आवको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ आर्जन गरेका थिए । त्यसमध्ये सम्पत्ति बीमालेखमार्फत २ अर्ब ३५ करोड, ईन्जिनियर तथा ठेक्का बीमालेखमार्फत १ अर्ब ९० करोड र विविध बीमालेखमार्फत १ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै यस अवधिमा सामुन्द्रिक बीमालेखमार्फत ६३ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको प्राधिकरणले जानकारी दिएको छ ।

सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ आर्जन गर्दा शिखर इन्स्योरेन्सले १ अर्ब २ करोड, सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख, नेको इन्स्योरेन्सले ८२ करोड ८४ लाख र सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको समेत प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रदेशगत रुपमा हेर्दा चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क बागमति प्रदेशबाट ७ अर्ब ३२ करोड २१ लाख रुपैयाँ उठेको देखिन्छ । यस्तै यस अवधिमा लुम्बिनी प्रदेशबाट ९८ करोड, प्रदेश १ बाट ९१ करोड, मधेश प्रदेशबाट ६५ करोड, गण्डकी प्रदेशबाट ६१ करोड, सुदूरपश्चिम प्रदेशबाट २५ करोड र कर्णाली प्रदेशबाट ९ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको प्राधिकरणले जानकारी दिएको छ ।

असोज महिनामा भने सबै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । बीमा प्राधिकरणका अनुसार १९ निर्जीवन बीमा कम्पनीहरुले असोज महिनामा मात्रै २ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । जसमध्ये यस अवधिमा शिखर इन्स्योरेन्सले मात्रै ३४ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले असोज महिनामा मात्रै २० हजार २ सय ५६ ओटा बीमालेखमार्फत उक्त बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै नेको इन्स्योरेन्स कम्पनीले २८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सगरमाथा इन्स्योरेन्सले साढे २६ करोड, सिद्धार्थ इन्स्योरेन्सले २२ करोड २९ लाख र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले १७ करोड ४ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL