Logo

फाइभजीको प्रतीक्षा : एक बर्षमा २८ लाखले घटे थ्रिजी प्रयोगकर्ता, फोरजी प्रयोगकर्ता ८६ लाखले बढे

फाइभजीको प्रतीक्षा : एक बर्षमा २८ लाखले घटे थ्रिजी प्रयोगकर्ता, फोरजी प्रयोगकर्ता ८६ लाखले बढे



काठमाडौं । नेपालमा लामो समयदेखि चर्चामा रहेको फाइभजी (पाँचौ पुस्ता)को इन्टरनेट परीक्षण अघि बढेको छ । पछिल्लो समय विश्वव्यापी बन्दै गएको फाइभजी परीक्षणका लागि आवश्यक उपकरण नेपाल आइपुगेसँगै नेपालमा फाइभ जी सेवा छिट्टै शुरु हुने सम्भावना बढेको छ ।

फाइभजी परीक्षणको अनुमति पाएको सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमले विभिन्न ४ स्थानमा जडान गर्नेगरी उपकरण नेपाल भित्र्याइसकेको छ । टेलिकमले चालु आर्थिक बर्षमा नेपालभरका विभिन्न ७ स्थानमा फाइभजी परीक्षण गर्ने योजना बनाएको छ । यसअघि नेपालका ४ स्थानमा मात्रै फाइभजीको परीक्षण गर्ने घोषणा गरेको टेलिकमले थप ३ स्थानमा पनि परीक्षणको तयारी गरिरहेकोे छ ।

नेपालमा फाइभजीको प्रतिक्षा भइरहेको समयमा प्रयोगकर्ता पनि आफुलाई नयाँ प्रविधिमा अपडेट गरिरहेका छन् । गएको एक बर्षमा नेपालको इन्टरनेट क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा संचालनमा आएसँग थ्रिजी सेवाका प्रयोगकर्ता घटिरहेका छन् । विस २०७५ सालसम्म लगातार उकालो लागिरहेका थ्रिजी प्रयोगकर्ता त्यसयता भने निरन्तर ओरालो लाग्ने क्रममा छन् ।

इन्टरनेटको दुनियाँमा नयाँ नयाँ प्रयोगसँगै प्रविधिको तीव्र विकासका कारण तीव्र इन्टरनेटको माग अत्याधिक छ । विकसित राष्ट्रहरु पाँचौ पुस्ताको फाइभजी परिक्षणसँगै प्रयोगमा ल्याई सिक्सजीको परिक्षण गर्ने तयारी गर्दैछन् । यता नेपालमा भने २०७३ सालमा पहिलोपटक संचालनमा ल्याइएको फोरजी सेवा हाल देशभर पुगेको छ । तर, पनि अझै थ्रिजी चलाउने सेवाग्राहीको संख्या उस्तै देखिन्छ ।

२८ लाख ४८ हजारले घटे थ्रिजी चलाउने

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत असार मसान्तसम्मको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार १ बर्षमा थ्रिजीका सेवाग्राही २८ लाख ४८ हजार ३ सय २९ जनाले घटेका छन् । गत बर्ष असार मसान्तसम्म १ करोड २८ लाख ९४ हजार जना रहेका थ्रिजी प्रयोगकर्ता यो बर्षको असार मसान्तसम्म आइपुग्दा घटेर १ करोड ४६ हजार पुगेका हुन् । यस अवधिमा नेपाल टेलिकमको थ्रिजी सेवा प्रयोग गर्ने २१ लाख ५ हजारले घटेका छन् भने एनसेलका ३ लाख ९४ हजार थ्रिजी प्रयोगकर्ता घटेका छन् । यसरी हेर्दा यस अवधिमा एनसेलको भन्दा नेपाल टेलिकमका थ्रिजी प्रयोगकर्ताहरु अध्य सेवातर्फ विस्थापित भएको देखिन्छ ।

फोरजीमा जोडिँदै सेवाग्राही

थ्रिजी सेवामा लगातार घट्दो आकर्षणसँगै फोरजी सेवामा सेवाग्राहीहरु जोडिने क्रम निरन्तर उकालो लागेको छ । गत बर्षको असारदेखि चालु बर्षको असार मसान्तसम्मको तथ्यांकलाई नियाल्दा एक बर्षको अवधिमै फोरजी सेवामा ८६ लाख ५ हजार जना थपिईसकेका छन् । नेपाल दूरसंचार प्राधिकरणको एमआइएस प्रतिवेदन अनुसार गत बर्षको असार मसान्तमा नेपालमा फोरजी सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार १ सय ९९ जना मात्रै थिए ।

तर, एक बर्षको अवधिमा फोरजीका सेवाग्राही थपिँदा हाल यो संख्या १ करोड ८५ लाख ५९ हजार ५ सय २२ पुगेको छ । यस अवधिमा नेपाल टेलिकमले ६५ लाल ५३ हजारले फोरजी प्रयोगकर्ता बढाएर १ करोड १२ लाख ९७ हजार पुर्याएको छ । यसै अवधिमा अर्काे सेवाप्रदायक एनसेलले भने फोरजीका प्रयोगकर्ता २० लाख ७२ हजारले बढाउँदै ७१ लाख १५ हजार जना पुर्याएको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार चालु बर्षको असार मसान्तसम्म नेपालमा तारसहितको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट ३२ प्रतिशत घरधुरीसम्म, ताररहित इन्टरनेट सेवा ०.३४ प्रतिशत र मोबाइल ब्रोडब्याण्ड ९८.४६ प्रतिशत घरघुरीसम्म पुगिसकेको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार हाल नेपालमा इन्टरनेटको पहुँचमा रहेको जनसंख्या १३१ प्रतिशत छ भने टेलिफोन सेवाको पहुँचमा पुगेको जनसंख्या १४३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL