Logo

डेढ अर्ब लगानीको चोभार सुक्खा बन्दरगाह सुनसान, ७ महिनामा २१ करोडको वैदेशिक व्यापार

डेढ अर्ब लगानीको चोभार सुक्खा बन्दरगाह सुनसान, ७ महिनामा २१ करोडको वैदेशिक व्यापार



काठमाडौं । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरे । वीरगंज नाका हुँदै आएका ४ कन्टेनर भित्र्याएर उद्घाटन गरिएको उक्त बन्दरगाह हाल सुनसान छ । विश्व बैंकबाट ऋण लिएर डेढ अर्ब बढी खर्च गरि निर्माण गरिएको उक्त बन्दरगाहबाट भने पछिल्लो ३ महिनामा जम्मा १० करोड ७५ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा यो बन्दरगाहबाट १० करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु आयात र ३३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यसअघि अर्थात गत आर्थिक बर्षको चैतदेखि असार मसान्तसम्म१० करोड ४४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यसरी गत चैतयता असोज मसान्तसम्म यो नाकाबाट २० करोड ३० लाख रुपैयाँ बराबरको वस्तु आयात र ८८ लाख ७८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ ।

नेपालमा सामान भित्रिने र बाहिरिने अन्य भन्सार नाकाको चापलाई मध्यनजर गर्दै चाप कम गर्न निर्माण गरिएको उक्त बन्दरगाहको उपयोगिता खासै नभएको तथ्यांकले देखाएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर विरगंज, भैरहवा, विराटनगर लगायतका भन्सारबाट जाँचपास हुने गरेका थिए । यसरी दैनिक भित्रिने कन्टेनरका कारण सीमानाकाका भन्सार कार्यालयमा चापका कारण कन्टेनर जाँचपास हुन समय लाग्ने गरेको छ । यिनै समस्याको समाधानका लागि सबैभन्दा बढी कन्टेनर आउने काठमाडौंमै बन्दरगाहको निर्माणमा सरकारले जोड दिएपनि व्यवसायीहरु भने यसमा आकर्षित नभएको देखिन्छ ।

व्यवसायीहरुले उक्त बन्दरगाहमा कन्टेनर ल्याउने र जाँचपास गराउने आश्वासन दिएपनि सोहीअनुसार कन्टेनर भने आउने नगरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘हामीले व्यवासायीहरुसँग विभिन्न चरणमा छलफल गर्ने गरेका छौं,’ उनले भने, ‘व्यवसायीहरुले पनि उक्त बन्दरगाहबाट मालसामान जाँचपास गराउने भन्नुहुन्छ तर, भनेबमोजिम कन्टेनर आउँदैनन् ।’

चोभार सुक्खा बन्दरगाहसँगैका अन्य बन्दरगाहबाट भने औसतमा दशौं अर्ब बढीको वैदेशिक व्यापार हुने गरेको छ । चालु आवकै ३ महिनामा वीरगंज भन्सारबाट १ खर्ब ५९ अर्ब, विराटनगरबाट ६१ अर्ब ६० करोड, भैरहवाबाट ५९ अर्ब ४६ करोड र सिर्सिया सुक्खा बन्दरगाहबाट ५२ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यता उत्तरतर्फका रसुवा र तातोपानी नाकाबाट क्रमशः ५ अर्ब ३९ करोड र २ अर्ब ४२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL