Logo

भारतले थप एक बर्ष लम्ब्यायो चिनी निर्यातमाथिको प्रतिबन्ध, नेपालमा कस्तो असर पर्ला ?

भारतले थप एक बर्ष लम्ब्यायो चिनी निर्यातमाथिको प्रतिबन्ध, नेपालमा कस्तो असर पर्ला ?



काठमाडौं । भारत सरकारले चिनी निर्यातमाथिको प्रतिबन्ध थप १ बर्ष लम्ब्याएको छ । भारत सरकारले चिनी उत्पादनमा ह्रास आएपछि माग धान्न कठिन हुने आँकलनसहित यसअघि लगाएको प्रतिवन्ध थप १ बर्ष लम्ब्याएको हो ।

यसअघि गत जेठमा भारतको उद्योग मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार निर्देशनालयले अक्टोबर ३१ सम्मका लागि चिनी निर्यातमा रोक लगाएको थियो । रुस युक्रेन युद्धका कारण विश्व व्यापार प्रणालीमै असर परेपछि धेरै देशहरुले आफ्ना प्रमुख उत्पादनहरुको आन्तरिक खपतमा सन्तुलन बनाइराख्न सीमित वस्तुको निर्यातमा प्रतिवन्ध लगाएका थिए ।

सोही नीतिको सिको गर्दै भारतले पनि चिनी निर्यातमा कडाई गरेको थियो । पुनः वैदेशिक व्यापार निर्देशनालयले गत शुक्रबार एक सूचना जारी गर्दै सन २०२३ अक्टोबर ३१ सम्मका लागि उक्त प्रतिवन्ध लम्ब्याइएको जानकारी दिएको हो । तर, यस्तो प्रतिवन्ध युरोपियन युनियन र अमेरिकामा भने लागु हुनेछैन । भारत चिनी उत्पादनमा विश्वको सबैभन्दा ठुलो र निर्यातमा दोस्रो ठूलो राष्ट्र हो ।

नेपालमा कस्तो असर पर्ला ?

यसरी भारतले नेपाललगायत देशका लागि चिनी निर्यातमा प्रतिवन्ध लगाउँदा यी देशहरुमा चिनीको मूल्यमा उत्तारचढाव हुने बताइएको छ । यसअघि गत जुन १ देखि भारतले लगाएको प्रतिवन्धका कारण भारतीय सिमा नाकाबाट अवैध रुपमा चिनी आयात हुनेगरेको विभिन्न अध्ययनमा देखिएको । भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाएसँगै चकलेट, विस्कुट, मिठाइ उत्पादनमा केही असर पर्ने देखिन्छ ।

नेपालले चालु आर्थिक बर्षको २ महिना साउन र भदौमा मात्रै विभिन्न देशबाट २ करोड ६९ लाख रुपैयाँ बराबरको ५० लाख किलो चिनी आयात गरेको छ । यसमध्ये सबैभन्दा बढी चिनी भारतबाटै आएको देखिन्छ । गत आर्थिक बर्षमा भने नेपालले ५ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको ११ करोड किलो चिनी विभिन्न देशहरुबाट आयात गरेको थियो ।

नेपालको चिनी उद्योगीहरुले नेपालमा पर्याप्त मात्रमा चिनी उत्पादन हुने गरेको बताएपनि धेरैजसो माग विदेशबाटको आयातले धानेको तथ्यांकले देखाउँछ । भारतले हालसम्म लगाएको चिनी निर्यातको प्रतिवन्धले नेपालमा चिनीको मूल्यमा असर परिसकेको र अझै प्रतिवन्ध लम्बिँदा चिनीको अभावसमेत हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL