Logo

घरजग्गाको कारोबार ७० प्रतिशतले घट्यो, असोजमा २ अर्ब ५६ करोड राजस्व सङ्कलन

घरजग्गाको कारोबार ७० प्रतिशतले घट्यो, असोजमा २ अर्ब ५६ करोड राजस्व सङ्कलन



काठमाडौं । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले ७ अर्ब ३३ करोड २१ लाख १५ हजार ४ सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घरजग्गाको कारोबार अपेक्षित रुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो ।

गत असोजमा भने २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार ३ सय ९३ रुपैयाँ बराबरको मात्रै राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा नै झण्डै ७० प्रतिशतको दरले राजस्व सङ्कलनमा गिरावट भएको छ । यसबाट घर जग्गाको कारोबारमा उल्लेख्यरुपमा गिरावट भएको देखिन्छ ।

देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा ५ अर्ब २७ करोड २० लाख ५३ हजार ८ सय ३ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

पछिल्ला ३ वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व सङ्कलन मात्रै होइन कित्ताकाट र लिखत पारितसमेत उल्लेख्य रुपमा घटेको देखिन्छ । त्यसको पछाडि नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाई नै प्रमुख कारण रहेको यस क्षेत्रका जानकारको भनाइ छ ।

घर जग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रुपमा घोषणा गरेको छ । काठमाडौँ उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ ।

विभागका अनुसार चालू आवको पहिलो महिना अर्थात् गत साउनमा घर जग्गाको कारोबारबाट २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै गत भदौमा ३ अर्ब ५६ करोड २९ लाख ३ हजार ९ सय बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत असोजमा मात्रै २७ हजार आठ सय ५० वटा घर जग्गाको कारोबार भएको छ । त्यस्तै भदौमा एक लाख आठ हजार आठ सय ८१ वटा कारोबार भएको थियो । साउनमा भने कूल ९८ हजार ६४ वटा कारोबार भएका थिए । कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा देखिन्छ । भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरेअनुसारको घरजग्गाको कारोबार हुन नसकेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL