काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)को शूभारम्भ गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मूख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लूटीओ चेयरको उद्घाटन गरेका हुन् । विश्व व्यापार संगठनका सदस्यहरुको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागीतालाई सहज बनाउने लक्ष्यका लागि डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)ले विकासोन्मुख राष्ट्रहरुमा शेक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउँछ ।
यसबाट ती मुलुकले अन्तर्राष्ट्रिय व्यापार कानून र अर्थशास्त्रको ज्ञान बढाउने उद्देश्य लिइएको हुन्छ । यस्तो कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लूसीपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले बताए । उनका अनुसार डब्लूसीपी आगामी चार वर्ष (सन् २०२२–२०२६) कुसोममार्फत सञ्चालन हुने छ । जसमा मूख्यतया तीन वटा खम्बामा काम हुनेछन् । यसभित्र पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुनेछ ।
क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन तथा व्यापारसँग सम्बन्धित सरोकारवाला निकायहरुमा सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गरिने भएको छ । पाठ्यक्रम विकास शिक्षणतर्फ अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित विभिन्न तहमा कोर्षहरु निर्माण गरिनेछन् । व्यापारसँग सम्बन्धित अनुसन्धानका काम समेत यसबीचमा हुने कुसोमले जनाएको छ ।
शुभारम्भ कार्यक्रमलाई प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना सन्देश पठाएका थिए । जसमा प्रधानमन्त्री देउवाले डब्लूसीपी नेपाल कार्यक्रमले नेपालको व्यापार र लगानी नीति तर्जुमा गर्न सहयोग गर्ने र जसका माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारमा नेपालले सामना गर्ने प्रमुख अवरोधमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । उनले नेपालले खासगरी आपूर्तिको क्षेत्रमा बढी बाधा भोग्नु परेको समेत उल्लेख गरे । अन्तर्राष्ट्रिय व्यापार यथार्थमा आधारित बनाउन समेत यो कार्यक्रमको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । विश्व व्यापार संगठनका उपमहानिर्देशक जियाङ्ग झाङ्गले यस्तो नेटवर्कबाट विचारहरुको अन्तर विजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको अधिक आदान–प्रदान गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै मूख्यसचिव शंकरदास बैरागीले शैक्षिक, अनुसन्धानका माध्यमबाट व्यापारको क्षेत्रमा नयाँ नयाँ सोचको सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने बताए । उनले यो कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहने समेत आश्वान दिए । सन् २००४ मा नेपाल डब्लूटीओको सदस्य बनेको स्मरण गराउँदै उनले नेपाल अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रुपमा काम गरिरहेको समेत उल्लेख गरे । डब्लूटीओको सदस्य बन्दा नेपालको अपेक्षा र वास्तविकताका बीच अन्तर रहेको उल्लेख गर्दै उनले चेयर कार्यक्रमले नेपालजस्ता विकासोन्मुख मुलुकलाई अन्तर्राष्ट्रिय व्यापार र कानूनका जटिलता चिर्न सहयोगी बन्ने अपेक्षा समेत गरे । उनले नेपालको सन्दर्भमा व्यापार घाटा मूख्य समस्या भएको भन्दै यसमा निजी क्षेत्रको भूमिका समेत महत्वपूर्ण हुने बताए । यद्दपी पछिल्लो अन्तर्राष्ट्रिय परिदृष्यले ‘डुइङ विजनेशको मूल्य’ बढ्दा प्रतिस्पर्धी क्षमता भएको स्वीकार समेत गरे ।
कार्यक्रममा दाता मुलुकका तर्फबाट अष्ट्रियाको डिजिटल तथा आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सिन्थिया जिम्मरम्यानले शैक्षिक विधेषज्ञताको पूँजीकरणमार्फत क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताइन् । डब्लूटीओ चेयर प्रोग्रामकी शैक्षिक बोर्ड सदस्य डेसिरी भान गोर्पले कुसोममार्फत तोकिएका क्षेत्रमा आक्रामक नतिजा प्राप्त हुने अपेक्षा व्यक्त गरिन् । डब्लूटीओ चेयर प्रोग्रामका ज्ञान व्यवस्थापन महाशाखाका निर्देशक डा. वर्नर जडुकले ग्रामिण उद्यमी र शिक्षकहरुका बीचमा ज्ञान फैलाउन नेपालले गरिरहेको तयारीको प्रसंशा गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लूटीआको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको स्मरण गराउँदै आज त्यसअनुसारको नतिजा नदेखिएको बताए । व्यवसायमा रहेका अवरोध पहिचान गरी यससँग सम्बन्धित समस्या समाधानमा निजी क्षेत्र, शिक्षाविद् र सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले आयात–निर्यातको कहालीलाग्दो तथ्यांक प्रस्तुत गर्दै यसबीचमा नेपालले भोग्नु परेका समस्यालाई समेत स्मरण गराए । विगतको लामो लोडसेडिङ, कमजोर पूर्वाधार र नेपालको छिमेकी मुलुकले दिएका उच्च अनुदानका बीच नेपालको निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता कमजोर भएको उनले बताए । विगतका कमजोरी सच्याउने समय आएको उनले बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले डब्लूसीपी नेपालमा आउनु आफैमा गर्वको विषय भएको बताए । सबैको साथ र सहभागितामार्फत तोकिएका लक्ष्य प्राप्त गर्न कट्टिवद्ध रहेको समेत उनको भनाई छ । डब्लूटीओसँगको साझेदारीले शैक्षिक उत्कृष्टता, अनुसन्धान र पहुँच बढाउने उद्देश्य प्राप्तीमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।