Logo

आइकाओमा नेपालको दाबी-नेपाली आकाश सुरक्षित छ, इयुले सुरक्षासूचीमा राखिरहनुको औचित्य छैन्

आइकाओमा नेपालको दाबी-नेपाली आकाश सुरक्षित छ, इयुले सुरक्षासूचीमा राखिरहनुको औचित्य छैन्



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।

क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गरे । उनले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताए ।

नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताएका थिए ।

आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा गएका हुन् । महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् ।

आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ ।

आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्