Logo

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित, यस्तो छ २५ सदस्यीय कार्यसमिति

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित, यस्तो छ २५ सदस्यीय कार्यसमिति



काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीए)को अध्यक्षमा पुनः कुश कुमार जोशी नियुक्त भएका छन् । असोज २ गते हेटौँडामा आयोजित एनबीएको १६ औं बार्षिक साधारणसभाले उनलाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारणसभाले उनीसँगै २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दिपक मल्होत्रा, सचिवमा सरोज प्रसाद पाण्डे र सुरेश प्रधान तथा सह–कोषाध्यक्षमा विनायक शाह चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा उमेशलाल श्रेष्ठ, लता प्याकुरेल, शिवप्रसाद घिमिरे, अशोक वैध, राजेश खड्का, रविन्द्र मान सिंह प्रधान, अरनिको राजभण्डार रहेका छन् ।

यस्तै, मुकेश कुमार भट्टराई, रमेश शर्मा, राजेश बाबु श्रेष्ठ, डा. वविन पोखरेल, खेम लकाई, होमनाथ उपाध्याय, सनम शाक्य पनि सदस्यमा निर्वाचित भएका छन् । कार्यसमितिको मनोनित कार्यसमिति सदस्यमा सुधिर मित्तल र डा. राजेन्द्र घिसिङ तथा संस्थागत पदेन सदस्यमा नानीराज घिमिरे निर्वाचित भए ।

अध्यक्ष जोशीले कोभिड १९ लगायतका विभिन्न जटिल परिस्थितिसँग जुझ्दै भए पनि संस्थाले व्यवसायिक वातावरणमा देखिएका समस्या, जिम्मेवार व्यवसायिक अभ्यासको प्रबर्द्धन, विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको संलग्नतालाई अघि बढाएको बताए ।

उनले एनबीआईको सक्रियताकालाई अझ मजबूत बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । ‘हरेक दुई वर्षमा गरिदै आएको जिम्मेवार व्यवसाय सम्मेलनलाई गत वर्ष आयोजना गर्न सकिएन,’ उनले भने , ‘तर आगामी वर्ष प्राथमिकता साथ आयोजना गर्ने योजना रहेको छ ।’

विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक एलाइन्स फर डिजास्टर मेनेजमेन्टसँगको सहकार्यलाई आगामी ३ वर्षको लागि निरन्तरता दिइ विपदको पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कार्यक्रमहरु आयोजना गरिने उनले जानकारी दिए ।

कार्यक्रममा गत वर्ष गरिएका क्रियाकलाप तथा उपलब्धी सहितको वार्षिक प्रतिवेदन पेश गर्दै महासचिव मालाकारले पहलले नियमित रूपमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको जिम्मेवार व्यवसाय सम्मेलनको चौंथो संस्करण आगामी सन् २०२३ को फरवरीमा गर्नेगरी तयारी अगाडि बढाइएको जानकारी दिए ।

यस्तै, कोषाध्यक्ष मलहोत्राले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरे पश्चात उपस्थित साधारण सभाका सदस्यले दुवै प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

एनबीआईका संस्थापक अध्यक्ष पद्म ज्योतिको नेतृत्वमा गठित सल्लाहकार समितिमा संस्थापक सदस्य तथा हालका राज्यमन्त्री माननीय उमेश श्रेष्ठ र गोपी न्यौपाने रहने छन् ।

शान्ति स्थापना, दिगो सामाजिक आर्थिक विकास र सामाजिक उत्तरदायित्व प्रबर्द्धनमा विगत डेढ दशकदेखि क्रियाशील यस राष्ट्रिय व्यवसायिक पहलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ नेपाल लगायतका प्रतिष्ठित संघसंस्थाहरू आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL