Logo

मोबाइलबाट सिमकार्ड हटाउँदै कम्पनीहरु, नेपालमा कहिलेदेखि उपलब्ध होला इ-सिम ?

मोबाइलबाट सिमकार्ड हटाउँदै कम्पनीहरु, नेपालमा कहिलेदेखि उपलब्ध होला इ-सिम ?



काठमाडौं । पछिल्लो समय मोबाइल निर्माता कम्पनीहरुले मोबाइल ह्यान्डसेटमा भौतिक सिमकार्ड हटाउन थालेका छन् । केही दिन अघिमात्रै अमेरिकी टेक कम्पनी एप्पलले सार्वजनिक गरेको आईफोन १४ सिरिजबाट सिमकार्ड ट्रे नै हटाइएको छ ।

एप्पलले नयाँ सिरिजबाट सिम कार्ड ट्रे हटाएको छ, जसको मतलब प्रयोगकर्ताहरूलाई नयाँ मोडेलहरूमा सिम कार्ड घुसाउने विकल्प दिइने छैन । कम्पनीले प्रयोगकर्ताहरूले ई–सिम मात्र प्रयोग गरुन भन्ने चाहेको छ । लन्च कार्यक्रमको क्रममा एप्पलले आईफोन १४ श्रृंखला पूर्ण रूपमा ई–सिममा आधारित हुने र भौतिक सिम कार्ड राख्न नसकिने बताएको थियो । तर, यो परिवर्तन अहिले अमेरिकामा मात्रै गरिएको छ र नेपाली प्रयोगकर्ताहरूले यसको बारेमा चिन्ता गर्नुपर्दैन ।

भविष्यमा इ–सिम कार्डमात्रै

एप्पलसँगै अन्य मोबाइल ह्यान्डसेट निर्माताहरुले क्रमशः मोबाइल ह्यान्डसेटबाट भौतिक सिमकार्ड हटाउने योजना बनाइरहेका छन् । अहिले नै सामसुङको ग्यालेक्सी एस२० सिरिज, ग्यालेक्सी एस२१ सिरिज, ग्यालेक्सी एस२२ सिरिज र फोल्ड गर्न मिल्ने फोन (फोल्ड र फ्लिप सिरिज) मा ई–सिम सपोर्ट छ । गुगलले पनि आफ्ना नयाँ ह्यान्डसेटमा इ–सिम सपोर्ट लागु गरिसकेको छ भने अन्य कम्पनीले पनि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेटहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

किन हटाइँदैछ सिमकार्ड ट्रे ?

तपाईले याद गर्नुभएको छ कि एप्पलले आईफोनको डिजाइनमा धेरै परिवर्तनहरू गरेको छ र लगातार यसको पोर्ट र प्वालहरू घटाउँदैछ । उदाहरणका लागि, पहिले ३.५ एमएम अडियो ज्याक हटाइयो र त्यसपछि टच आईडी हटाइयो र फेस आइडीलाई यसको अंश बनाइयो । कम्पनी एकदमै कम प्वाल र पोर्ट भएको सफा यन्त्र बनाउन चाहन्छ । जसका कारण एप्पलले सिमकार्ड ट्रे हटाएको हो । अरु कमपनीहरुले पनि यस्तै चाहेका छन् ।

अब फोन गर्ने र अन्य महत्वपूर्ण काम कसरी गर्ने ?

भौतिक सिम कार्ड ट्रे नपाउँदा प्रयोगकर्ताहरूले प्लास्टिक सिमकार्डहरू प्रयोग गर्न सक्ने छैनन् । उनीहरूले टेलिकम अपरेटरबाट ई–सिम लिनुपर्नेछ, जसले फोनमा कुनै पनि कार्ड नराखेरै पनि नम्बर प्रयोग गर्न अनुमति दिन्छ । यो प्रविधि हालको आईफोन मोडेलहरूमा छ, तर तिनीहरूमा भौतिक सिम कार्ड पनि राख्न भने सकिन्छ ।

के हो इ–सिम ?

इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुनेछ । यसबाट फोन र डेटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

इ–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरेबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

टेलिकम कम्पनीहरू किन इ–सिम चाहन्छन् ?

विश्वका प्रमुख टेलिकम सञ्चालकहरू पछिल्लो समय इ–सिमको पैरवी गर्दै आएका छन् । विश्वका धेरै टेलिकम कम्पनीहरुले १०० डलर वा सोभन्दा बढी मूल्यका सबै उपकरणहरूमा ई–सिम अनिवार्य गर्न चाहेका छन् । टेलिकमहरूले ह्यान्डसेट निर्माताहरूलाई ई–सिमहरू लागू गर्न दबाब बढाइरहेका छन् ।

यसको मुख्य कारण भने सेमीकन्डक्टरको विश्वव्यापी अभाव र होर्डिङका कारण सिमकार्डको मूल्य अहिले ४–५ गुणाले बढनु हो । इ–सिम लागु भए उनीहरुले करोडौ रकम बचत गर्न सक्नेछन् । अर्कोतर्फ सिम बिग्रने खतरा पनि नहुने र सुरक्षाका दृष्टिले पनि इ–सिम उपयुक्त हुने टेलिकम कम्पनीहरुको दाबी रहेको छ ।

इ–सिम नेपालमा पनि उपलब्ध छ ?

नेपालमा हालसम्म दूरसञ्चार सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले ई–सिम सेवा शुरु गरिसकेका छैनन् । तर, नेपाल टेलिकमले निकट भविष्यमै इ–सिम (इम्बेडेड सिमकार्ड) उपलब्ध गराउने तयारी भने गरिरहेको छ । यसका लागि टेलिकमले बेलायतको मोन्टी युके ग्लोबलसँग सम्झौता पनि गरिसकेको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई इ–सिम सेवा प्रदानका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL