Logo

दोस्रो चरणको चक्रपथ विस्तार अलपत्र : न डिपिआर बन्यो, न निर्माण अघि बढ्यो

दोस्रो चरणको चक्रपथ विस्तार अलपत्र : न डिपिआर बन्यो, न निर्माण अघि बढ्यो



काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको चक्रपथको दोस्रो खण्डको विस्तार अलपत्र परेको छ । चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ सरकारको उदासीनताका कारण दोश्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगंजसम्मको सडकखण्ड अलपत्र परेको हो ।

चक्रपथ विस्तारकै लागि भनेर साइट क्लियको काम सम्पन्न भएपनि काम अघि बढन नसक्दा विस्तार हुने कि नहुने भन्ने अन्यौल बढेको छ । अहिले यो सडकखण्डमा बीचको दुई लेन पुरानै अवस्थामा संचालन भइरहेपनि दायाँबायाँका २÷२ लेन सडकका लागि स्थान खाली गरिएको छ । तर, काम हुन सकेको छैन । ४ बर्षअघि उक्त सडकखण्ड चौडा बनाउनका लागि नेपाली पक्षलाई साइट क्लियर गर्ने काम अह्राएर डिपिआर बनाउन भन्दै चीन फर्केको चिनियाा प्रावधिक टोली अझै फर्किन मानेको छैन ।

नेपाली पक्षले चीनले सडक विस्तार गर्ने भनेको क्षेत्र कलंकीदेखि महाराजगंजसम्म विजुलीका पोल, तार, खानेपानी, ढल, घरटहरा, रुखलगायत सबै हटाएर क्लियर गरिसकेको छ । यसरी क्लियर गरेको ६ महिनाभन्दा बढी भइसकेपनि चिनियाँ पक्षको उपेक्षाकै कारण साइट क्लियर गरेको सडक नै अलपत्र परेको सडक विभागका एक अधिकारीले बताए । उनका अनुसार चिनियाँ पक्षलाई लगातार ताकेता गर्दा पनि चिनियाँ पक्षले हालसम्म जवाफ दिएको छैन ।

चिनियाँ पक्षले खासगरी वि २०७५ सालको अन्तिममा पहिलो खण्डको काम सम्पन्न गर्नेवित्तीकै दोस्रो खण्डको काम सुरुवात गर्ने योजना बनाएको थियो । तर, पहिलो खण्डमा साइट क्लियर नै नभईकनै काम थाल्दा बाधा आएको भन्दै दोस्रो खण्डमा साइट क्लियर गरिनुपर्ने शर्त राखेको थियो । चिनियाँ अनुदानमै निर्माण हुन लागेको उक्त सडकखण्डको साइट क्लियर गर्न नेपाली पक्षले जिम्मा लिएको थियो । जसमा सडकको दायाँवायाँ ३१ मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचनालाई सार्नुपर्ने, भत्काउनुपर्ने लगायतका काम थिए ।

नेपाली पक्षले करिव ३ बर्ष नै लगाएर त्यस क्षेत्रका संरचनाहरु हटाएको छ । सबैभन्दा अप्ठ्यारो मानिएको महाराजगंज चोकका घर र स्वयम्भुको केहि संरचना सडकसम्मै पुग्ने भएपछि त्यसलाई भने हटाउन सकिएको छैन । तर, त्यसको विकल्पमा जानुपर्ने भन्दै महाराजगंजसम्म सडक विस्तार नगरी बसुन्धारासम्म मात्रै गर्ने र स्वयम्भुमा अन्डरवे वा अन्य विकल्प गर्न सकिने सडक विभागले जनाएको थियो । यी विकल्पमा पनि चिनियाँ पक्षले करिव हुन्छ भनिसकेको अवस्था भएपनि निर्माण कार्य अघि बढाउन भने चिनियाँ पक्ष आएको छैन । यसरी चिनियाँ पक्षले हालसम्म पनि न उक्त सडक विस्तारको डिपिआर वा डिजाइन नेपाली पक्षलाई दिएको छ न सम्पर्कमै आएको छ । यस्तो हुँदा उक्त सडक विस्तारमै अन्यौलता छाएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख मेघराज मरासिनी बताउँछन् ।

यसअघि चिनियाँ पक्षले कहिले कोरोना कहिले साइट क्लियर नभएकोलगायतका बहाना बनाउँदै आउन मानेको थिएन । अब नेपाली पक्षले पनि साइट क्लियर गरेको झण्डै ६ महिना पुगेर पत्राचार गरिसक्दा पनि पुनः कोरोनाकै कारण देखाइरहेको मरासिनी बताउँछन् । चीनका प्राय धेरैजसो स्थानमा पुनः कोरोनाको त्रास फैलँदो छ । जसका कारण चिनियाँ पक्षले यसको त्रास अन्त्य हुनेवित्तिकै आएर काम गर्ने संकेत दिएको उनले बताए ।

चिनियाँ पक्षले यसपल्ट चक्रपथ विस्तार गर्दा हरियाली, आकाशेपुल, अन्डर वे, जेब्रा क्रसिङलगायतमा भएका त्रुटि नदोहोर्याउने बताएको छ । तर, हालसम्म चिनियाँ ठेकेदार पक्षले उक्त आयोजनाको डिजाइन बनाएको छैन । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरि चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो भएपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धारा चोकसम्म पुर्याइएको छ । महाराजगंज चोकको साइट क्लियर नहुँदा चिनियाँ पक्षले कलंकीदेखि बसुन्धारासम्म मात्रै चक्रपथ विस्तार गर्नेछ । त्यसबीचमा महाराजगंजको समस्या समाधान भएमा महाराजगंजबाट पूर्वतिर पनि विस्तारका काम अघि बढाउन सकिने सडक विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL