Logo

महासंघमा आफ्ना लागि हैन संस्थाको लागि काम गर्ने नेतृत्व आवश्यक : उमेशलाल श्रेष्ठ

महासंघमा आफ्ना लागि हैन संस्थाको लागि काम गर्ने नेतृत्व आवश्यक : उमेशलाल श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको सरगर्मी बढिरहँदा महासंघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले आफ्ना लागि नभई महासंघको हितमा काम गर्ने नेतृत्व छान्न आग्रह गरेका छन् । उनले रत्ननगर उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै महासंघलाई आगामी दिनमा कस्तो बनाउने र त्यसका लागि कस्तो नेतृत्व चयन गर्ने भन्ने कुरा जिल्ला अध्यक्ष लगायतका मतदाताहरुमा निहित रहेको बताए ।

‘हामीलाई सवल नेतृत्व चाहियो कि दुर्वल नेतृत्व त्यो छुट्याउने जिम्मा तपाई मतदाताहरुकै हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अब महासंघको नेतृत्वले आफ्ना लागि नभई सबैका लागि काम गरोस, अझै भन्नुपर्दा महासंघले जिल्ला लगायत तल्लो वर्गका साना तथा मझौला व्यवसायीको हितमा काम गर्न सक्ने हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै महासंघको आगामी निर्वाचनमा आफु पनि वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवार रहेको भन्दै त्यसमा आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘नेतृत्व चयन गर्दा तपाईहरुले मलाई नै छान्नुपर्छ म भन्दिन,’ उनले भने, ‘तर महासंघको छविलाई उच्च राख्दै व्यवसायीको हकहितमा काम गर्ने हो भने हामीले निडर भएर सरकारसँग छलफल गरेर व्यवसायीको समस्या समाधान गर्ने सक्ने आट भएको व्यक्ति छान्नु पर्नेछ ।’

यसैगरी कार्यक्रममा महासंघ पूर्व अध्यक्ष चण्डीराज ढकालले महासंघको साख जोगाउन निडर रुपमा सरकारसँग लविङ गर्न सक्ने व्यक्तिको खाँचो भएको बताए । ‘व्यवसायीको समस्या फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक संजालमा लेखेर समाधान हुँदैन,’ उनले भने, ‘यदि साच्चिकै महासंघको निर्वाचनमार्फत समग्र व्यवसायीको हितमा काम गर्ने नेतृत्व चयन गर्ने हो भने सरकारसँग फेसटुफेस गएर काम गर्न सक्ने व्यक्ति छान्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL