Logo

पम्पमा झुण्डिन थाल्यो ‘पेट्रोल छैन’को बोर्ड, फेरी किन संकट ?

पम्पमा झुण्डिन थाल्यो ‘पेट्रोल छैन’को बोर्ड, फेरी किन संकट ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । बजारमा सहज रुपमा पेट्रोल पाउन थालेको केही समय नवित्दै पम्पहरुमा पुनः ‘पेट्रोल छैन’ लेखिएको बोर्ड (विल्ला) झुण्डिन थालेका छन् । अहिले राजधानीका धेरैजसो पम्पले त्यस्ता बोर्ड झुण्ड्याएका छन् भने कतिपय पम्पमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनको लामो लाइन लागेको छ । जसले गर्दा पेट्रोलियम पदार्थको हाहाकार पुरानै अवस्थामा फर्कने हो कि भन्ने आशंका जनमानसमा पर्न थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमण सकेर नेपाल फर्केकै दिन राजधानीका अधिकांश पम्पहरुमा सवारीसानको लामो लाइन थियो भने केही पम्पले विल्ला झुण्ड्याएर बसेका थिए । हाल हड्तालभन्दा पनि नेपाल आयाल निगमले माग अनुुसार वितरण नगरेकाले पेट्रोल पम्पमा लाइन लागेको नेपाल पेट्रोलियम डिलर्श एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए । ‘निगमले सार्वजनिक विदा तथा शनिवार पेट्रोल दिँदैन,’ उनले भने, ‘त्यस्ता समयमा पम्पसँग पेट्रोल नभएपछि ‘पेट्रोल छैन’ लेखिएको विल्ला झुण्ड्याउनुको विकल्प हुँदैन ।’

सार्वजनिक विदा तथा शनिवारको दिन झन् बढी पेट्रोल खपत हुने भएकाले त्यसलाई मध्यनगर गर्दै निगमले व्यवस्थापन गर्नुपर्ने प्रधानको भनाइ छ । ‘भर्खरै मात्र पेट्रोल सहज हुन थालेको अवस्थामा निगमले त्यसलाई व्यवस्थापन गर्न दिनहुँ वितरण गर्नुपर्छ,’ उनले भने, ‘तर, एक दिन वितरण प्रणाली रोकिने वित्तिकै समस्या उत्पन्न भइहाल्छ ।’ निगमको वितरण प्रणाली ठिक नभएकाले पनि समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ ।

यसैगरी, थोरै परिमाणमा पेट्रोल पाउने पम्पले वितरण नगर्दा पनि समस्या उत्पन्न भएको उनले जानकारी दिए । ‘थोरै परिमाणमा पेट्रोल ल्याएर वितरण गर्दा पम्पलाई घाटा हुन्छ,’ उनले भने, ‘तसर्थ थोरै परिमाणमा पेट्रोल पाउने पम्पले ल्याएर विक्री गर्नुको सट्टा विल्ला झण्ड्याएर बसेका छन् ।’ त्यस्तै कतिपय उपभोक्ताले सीमानाकामा पुनः आन्दोलन हुन्छ भन्ने डरले पेट्रोल स्टोरेज गर्न थालेकाले पनि समस्या आएको उनी बताउँछन् ।

यता नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द घिमिरे पनि उपभोक्तामा त्रास सिर्जना भएकाले लाइन लाग्ने क्रम बढेको बताउँछन् । ‘हाल इण्डियन आयाल कर्पोरेशनले सामान्य अवस्थामै पेट्रोल दिँदै आएको छ भने निगमले पनि सोही अनुरुप वितरण गरिरहेको छ,’ उनले भने, ‘तर, उपभोक्ताहरु एउटा पम्पमा पेट्रोल नपाउने वित्तिकै सर्टेज हुन्छ भन्ने डरले खोजी खोजी लाइन बस्न थाल्छन् ।’

पछिल्लो समय निगमले दैनिक ४ लाख लिटरभन्दा बढी पेट्रोल वितरण गर्दै आएको छ । आइतबार ४ लाख लिटर पेट्रोल वितरण गरेकोमा सोमबार ६ लाख लिटर बजारमा पठाउन लागिएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL