Logo

निलम्बित प्रधानन्यायाधीश राणासँग आज बयानको तेस्रो दिन, सातौँ प्रश्नबाट बयान सुरु

निलम्बित प्रधानन्यायाधीश राणासँग आज बयानको तेस्रो दिन, सातौँ प्रश्नबाट बयान सुरु



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ । समितिले उनीसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियोे । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ ।

पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान सुरू हुनेछ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुुन बमोजिम काम गर्दै आएको वयान दिएका छन् ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ ।

राणा विरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ । समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्