Logo

काठमाडौं बाहिर कर्पोरेट कार्यालय रहने गरी ७ लघुबीमाको लाइसेन्स लिन आह्वान, समितिले जारी गर्यो ३५ दिने सूचना

काठमाडौं बाहिर कर्पोरेट कार्यालय रहने गरी ७ लघुबीमाको लाइसेन्स लिन आह्वान, समितिले जारी गर्यो ३५ दिने सूचना



काठमाडौं । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले ७ लघुबीमा कम्पनीको लाइसेन्स लिनका लागि आह्वान गरेको छ । समितिले शुक्रबार एक सूचना जारी गर्दै ३ जीवन र ४ ओटा निर्जीवन लघुबीमाको अनुमति पत्रका लागि प्रस्ताव आह्वान गरेको हो ।

चालु आर्थिक बर्षको बजेटको बुँदा नं ३२७ मा बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक महत्वपुर्ण आधारस्तम्भका रुपमा विकास गर्नका लागि गरिव, विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघुबीमा कम्पनीको स्थापना गरिने उल्लेख छ । सोही अनुसार बीमा समितिले बजेटको बुँदा कार्यान्वयन गर्नका लागि ३५ दिनभित्र ईच्छुक लगानीकर्ता तथा संघसंस्थाले प्रस्ताव आह्वान गर्न सक्ने बताएको छ ।

लघुबीमाको लाइसेन्स लिनका लागि समितिले सूचनामार्फत नै १३ ओटा सर्तहरु पनि तोकेको छ । जसमा ३५ दिनभित्र समितिमा सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने, कम्तिमा ७५ करोड रुपैयाँको पुँजी राख्नुपर्ने, एकै व्यक्ति वा संस्थाले छुट्टाछुट्टै दुबै किसिमका लघुबीमाको प्रस्ताव पेश गर्न सक्नेलगायतका सर्तहरु छन् ।

यस्तै समितिले यसअघि कुनै बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताहरुले पनि लघुबीमा कम्पनीका लागि प्रस्ताव पेश गर्न सक्ने बताएको छ । तर, त्यसका लागि हाल लगानी गरेको कम्पनीमा रहको लगानीको प्रतिशत, कम्पनीको नाम, प्रतिनिधित्व खुल्ने विवरणसमेत पेश गर्नुपर्नेछ ।

यता समितिले क्रसहोल्डीमा मुछिएको संस्था र व्यक्तिलाई समेत लघुबीमाको नयाँ लाइसेन्सका लागि प्रस्ताव दिन नमिल्ने उल्लेख गरेको छ । यस्तै यस्तो कम्पनी स्थापनाका लागि लघुबीमा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका भन्दा बाहिर हुनुपर्ने उल्लेख गरेको छ ।

पछिल्लो समय नेपाली बीमा क्षेत्रको लामो इतिहास भएपनि सोही अनुसार यसको दायरा विस्तार भने धिमा थियो । पछिल्लो करिव ८ बर्षको अध्ययनपश्चात बीमा समिति र सरोकारवालाहरुले नेपाली बीमा बजारमा लघुबीमा पनि ल्याउनुपर्ने निष्कर्श निकालेका थिए ।

हाल लाइसेन्स पाएका बीमा कम्पनीहरुले ग्रामिण भेग र दूरदराजमा आफ्नो व्यवसाय कम हुने भन्दै जानै नमान्ने अवस्था छ । सोही अवस्थालाई निर्मुल गर्न सरकारले लघुबीमाको अवधारणा ल्याएको समतिका एक अधिकारीले बताए ।
यता सरकारले लघुबीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेपछि हाल संचालित बीमा कम्पनीहरु भने आफ्नो व्यवसाय खोसीने डरमा छन् ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्
MBL