Logo

नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने, गत आवसम्म एक खर्ब ९५ अर्ब लगानी

नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने, गत आवसम्म एक खर्ब ९५ अर्ब लगानी



काठमाडौं । नागरिक लगानी कोषले विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्ने भएको छ । कोषको सोमबार सम्पन्न २७औँ वार्षिक साधारणभाका अवसरमा आयोजित कार्यक्रममा लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता गरिएको छ ।

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७र०७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस शेयर र एक दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

यसैगरी आव २०७७र०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले कोषले सङ्कलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पूँजीबजारका विकास गरी लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरुका बारेमा जोड दिए ।

सो अवसरमा अध्यक्ष प्राडा थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी गराएका थिए। आर्थिक वर्ष २०७८र०७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब १७ अर्ब ३२ करोड २२ लाख पुगेको छ । उक्त अवधिमा कोषले रु एक खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ ।

कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको जनाएको छ । यसैगरी कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा ‘एनएलके वेभ बेष्ड सफ्टवेयर’ पूर्णरूपमा लागू गरिएको छ । साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ ।

नयाँ सफ्टवेयर प्रयोगका लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरिसकिएको छ । योसँगै कोषमा आबद्ध भएका विभिन्न प्रतिष्ठान, सङ्घ, सङ्गठनहरुबाट रकम सङ्कलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL