काठमाडौं । विश्व अर्थतन्त्रमा मूल्यवृद्धिको उच्च दबाब जारी छ । उपभोग्य वस्तुको मूल्यवृद्धिमा आएको उछालका कारणे सबैभन्दा बढी उपभोक्तालाई पिरोलेको छ । वस्तुको मूल्य बढ्दा उपभोग गर्ने उपभोक्तालाई त पिरोलेको छ नै त्यसमाथि वस्तु उत्पादकहरुलाई पनि उत्तिकै प्रभाव परिरहेको छ ।
वस्तुको मूल्य बढेसँगै धेरैजसो उपभोक्ताले महंगिएको वस्तु किन्न रुचाउँदैनन्, जसका कारण उत्पादकको उत्पादनले लक्ष्यअनुरुप विक्रि नहुने समस्या भोगिरहेका छन् । यही समस्याको अन्त्य गर्न अर्थात उपभोक्तामाझ पुरानै मूल्यमा त्यही वस्तु उपलब्ध गराउन उत्पादनकर्ताहरुले नयाँ जुक्ति निकालेका छन् ‘शृंकफ्लेशन’ । ‘शृंकफ्लेशन’ उपभोक्तालाई थाहै नहुने गरी वस्तुको मूल्य बढी लिनु हो । अर्थात उपभोक्तालाई मूल्य बढेको आभास नगराइकनै उत्पादकले बढी फाइदा लिनु हो ।
के हो ‘शृंकफ्लेशन’ ?
‘शृंकफ्लेशन’ उपभोत्तालाई थाहा नहुने गरी वस्तुको मूल्य बढाउने उत्पादकहरुको एक औजार हो । जसमार्फत उत्पादनकर्ताहरुले बजारमा पठाउने वस्तुको मूल्य बढाएर पठाएपनि त्यसको जानकारी र अनुभवसमेत ग्राहकलाई हुँदैन । हाल बजारमा तपाईँ हामीले उपभोग गरिरहेका ट्वाईलेट पेपरदेखि चाउचाउसम्म र चुईगमदेखि चकलेटसम्मको मूल्य पुरानै भएपनि साइज भने केही घटेको छ । तर, हामी उपभोक्ताहरु मूलय नबढेको भन्दै रमाइरहेका हुन्छौं । तर, परिणाम कम दिएर उही मूल्य असुलिरहेका उत्पादकहले भने ‘शृंकफ्लेशन’ मार्फत अर्बौ रुपैयाँ कमाउँछन् । अर्थात उत्पादकले बजारमा आफ्नो अस्तित्व बचाईराख्न र विश्व बजारको मूल्य अनुसार चल्न वस्तुको आकार घटाएर पुरानै मूल्यमा बेच्ने गर्दछन् । यसले उपभोक्तालाई मूल्य बढेको पत्तो हुँदैन तर, वस्तुको परिमाण र आकारमा भने केही गिरावट आउँदा त्यसको समेत अनुभव हुन पाउँदैन । समग्रमा भन्दा ‘शृंकफ्लेशन’ नदेखिने गरी वा थाहा नपाउने गरी गरिएको मूल्यवृद्धि हो ।
नेपाली बजारमा ‘शृंकफ्लेशन’को समस्या
नेपालमा पनि यसको समस्या अत्याधिक छ । विश्व बजारमा जस्तो नेपाली उपभोक्ताले भने वस्तुको आकार घटेअनुसार पुरानै मूल्यमा वस्तु पाउँदैनन् बरु आकार घटेसँग वस्तुको मूल्य पनि बढाइएको हुन्छ । पछिल्लो समय चामल, तेल, दाल, चाउचाउ, बिस्कुट, साबुन, सर्फलगायतका वस्तुहरुमा नेपाली उपभोक्तालाई थाहै नदिईकन मूल्य बढीरहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । उनका अनुसार ठगिइरहेका नेपाली उपभोक्ताको पिडा नियमनकारी निकायले सुनुवाई गर्दैनन् ।
हाल बजारमा पाइने चकलेटको आकार १ बर्ष अघि पाईने चकलेटको आकारमा घटेको हुन्छ । साबुनको आकार पनि सोहीअनुसार घटिरहेको हुन्छ । यता तरलपदार्थको कुरा गर्दा पनि पुरानै मूल्यमा पाइने खानेतेलको प्याकेटमा पहिले पाइनेजति अर्थात आधा लिटर प्याकेटमा ५ सय मिलिलिटर तेल पुग्दैन । जुन नेपाली उपभोक्ताका लागि ‘शृंकफ्लेशन’ हो । यस्ता बिषयमा नियमनकारी निकायले आवश्यक जाँचबुझ नगर्दा उत्पादनकर्ताहरुले बजारबाट अकुत पैसा उठाउने गरेको संघका अध्यक्ष तिमिल्सिना बताउँछन् । ‘नेपाली बजारमा हाल सरकारले तोकेको भन्दा कम परिमाणमा चामल, साबुन, तेल, सरफलगायतका वस्तुहरु विक्री भईरहेका छन्,’ उनले भने, ‘ग्राहकलाई थाहै नदिईकन अर्थात अवैध परिमाण र गुणस्तरमा वस्तु बेच्न नेपालको कानुनले निषेध गरेपनि नियामकिय निकायको ध्यानाकर्षण नहुँदा उपभोक्ताहरु लुटिईरहेका छन् ।’
हाल युनिलिभरका उत्पादन, स्याम्पु, सावुनलगायतको आकार पहिलेको तुलनामा घटेको छ । भारतीय बजारबाट आउने विभिन्न किसिमका चकलेटको साइजमा पनि अझै गिरावट आईरहेको छ । कानुनतः सरकारले तोकिदिएको मूल्य, आकार र गुणस्तरमै वस्तु बेच्नुपर्ने बाध्यकारी व्यवस्था व्यवसायी वा उद्योगीलाई हुन्छ । तर, डेरिहरुले बेच्ने दहिदेखि घ्यु र महसम्मको परिमाण घटिसकेको छ । यस्ता व्यापारीहरुले वस्तुको मूल्य त पुरानै राख्छन् तर, परिमाण भने केहि घटिसकेको भइसकेको हुन्छ । यस्तो समस्या अन्य देशको तुलनामा नेपालमा बढी हुने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
उत्पादकलाई फाईदा
नयाँ मानिएको ‘शृंकफ्लेशन’ उद्योगी व्यवसायीलाई मूल्यवृद्धिका वाबजुद पनि फाइदा कमाउन सघाउने एक औजार मानिन्छ । कुनै विस्कुट कम्पनीकै कुरा गर्दा पनि मूल्यवृद्धि हुनुपूर्व ३० ग्राम विस्कुटको प्याकेट कुनै निश्चित मूल्यमा बेचिरहेको कम्पनीले मूल्य बढेपछि सोही मूल्यमै २५ ग्राम तौलको विस्कुट बजारमा पठाउँछ । एउटा प्याकेटबाट ५ ग्राम विस्कुट घटाएपछि मूल्य भने घटाउनुपर्दैन । बढेको मूल्य घटाइएको विस्कुटबाटै पुर्ति गरिन्छ । यसो हुँदा कम्पनीको विस्कुट बजारमा महंगो पनि हुँदैन, प्रतिस्पर्धामा पनि अघि हुन्छ तर, विस्कुटको आकार र तौल घटेको उपभोत्तालाई जानकारी नै हुँदैन ।