Logo

मौसम विभागको प्रक्षेपणः सरदर बर्षा भईसक्यो, अझै धेरै पानी पर्छ

मौसम विभागको प्रक्षेपणः सरदर बर्षा भईसक्यो, अझै धेरै पानी पर्छ



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ ९जुन १ देखि अगष्ट ११०सम्म जम्मा आठ सय ५८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव ७ मिलिमिटर भएको छ । जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव ९ प्रतिशत वर्षा भएको हो । यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आँकलन गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ ।

हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म ८ सय ३५ दशमलव ३ मिलिमिटर अर्थात ५६ दशमलव ७ प्रतिशत वर्षा भएको जानकारी दिए। यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उहाँले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आँकलन गरिएको बताए ।

प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताईन् ।

महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघरगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघरगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघरगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिईन्। आज काठमाडौँको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ । राजधानी काठमाडौँमा गए रातिदेखि वर्षा भएकाले छैन । बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्