काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर खाईने क्वाँटीको महत्व पछिल्लो समय बढ्दो छ । विभिन्न गेडागुुडीको मिश्रणको टुसा उमारी बनाईने यो परिकार विशेषगरी जनी पूर्णिमाको दिन बनाएर खाईन्छ ।
खासगरी चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर यसको टुसा उमार्ने चलन छ । तर प्राय हरेक नेपालीको भान्छामा आजको दिन पाक्ने यो परिकारमा पनि नेपाल विदेशकै भरमा छ भन्दा पत्यार नलाग्ला । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक बर्षभरी मात्रै क्वाँटीमा प्रयोग हुने र अन्य गरी १८ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको भित्रिएको छ ।
विभागका अनुसार यस अवधिमा नेपालले २१ लाख १९ हजार क्विन्टल गेडागुडी आयात गरेको छ । नेपालमा विभिन्न देशबाट आउने यस्ता गेडागुडी खासगरी दाल बनाउन र गेडागुडीका रुपमा खान प्रयोग गरिन्छ ।
विभागको तथ्यांकलाई केलाउँदा नेपालले गत आर्थिक बर्षभरी ३ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ बराबरको केराउ आयात गरेको छ । एक बर्षको अवधिमा ५ करोड ९२ लाख किलो आयात भएको यस्तो केराउमार्फत नेपालले ५६ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ । यस्तै यसै अवधिमा नेपालले क्वाँटीमा प्रयोग हुने अर्काे गेडागुटी चना पनि ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ४ करोड ६४ लाख किलो आयात गरेको छ । चना आयातमार्फत नेपालले यस अवधिमा ३७ करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
यस्तै यसै अवधिमा नेपालले ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको ३ करोड ३५ लाख किलो सिमी आयात गरेको छ भने २ करोड ८० लाख रुपैयाँ बराबरको २४ लाख १६ हजार किलो मस्याङ आयात गरेको देखिन्छ ।
विभागकै तथ्यांकलाई आधार मान्दा नेपालले क्वाँटीमा प्रयोग हुने बकुल्लासमे विदेशबाट आयात भएको छ । तथ्यांक अनुसार यस अवधिमा विदेशबाट नेपालमा २ करोड २३ लाख रुपैयाँ बराबरको २ लाख ६६ हजार किलो बकुल्ला आयात भएको देखिन्छ ।
कुन कुन देशबाट आयात हुन्छन् गेडागुडी ?
भन्सार विभागका अनुसार नेपालले क्यानडा, अर्जेन्टीना, युक्रेन, रुसलगायत देशबाट सुकेको केराउ आयात गर्छ भने अष्ट्रेलिया, भारत, म्यानमारलगायतका देशबाट चना आयात गर्ने गरेको छ । यस्तै नेपालले गत आर्थिक बर्षभरी ब्राजिल, माडागास्कर, म्यानमार, उज्वेकिस्तान, भेनेजुयला, दक्षिण अफ्रिकालगायतका देशबाट सिमी आयात गर्ने गरेको देखिन्छ । अर्थात नेपालले गत आर्थिक बर्षभरी भारतदेखि मलेसियासम्मका देशबाट दाल तथा गेडागुडी आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
क्वाँटी जनैपूर्णिमाको विशेषता
क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो हिन्दू धर्मावलम्बीहरूले देशभर जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाउने गर्दछन् । तागाधारीहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ ।
आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरूमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ ।
विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरूले आफ्ना दाजुभाइहरूलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।