काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उडान योग्न प्रमाणपत्र (एओसी) नै नपाएको हिमालयनको जहानमा चीन भ्रमणमा गएसँगै राष्ट्रियता माथी नै प्रश्न चिह्न खडा भएको छ । प्रधानमन्त्रीको निजी विमानमार्फत भएको चीन भ्रमणले राष्ट्रियताको धज्जी उडाएको नेपाल एयर लाइन्सका सिनियर क्याप्टेन विजय लामाले आफ्नो फेसबुकमार्फत उल्लेख गरेका छन् । ‘के बस्नु यस्तो देशमा जुन देशमा नेताहरुले राष्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन्,’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘धिकार्छु आफ्नो कर्मलाई यस्तो अवस्थामा आउदा पनि केही गर्न नसक्दा ।’
राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्सको विमानलाई लत्याएर निजी विमानमार्फत भएको प्रधानमन्त्रीको भ्रमणले राष्ट्रियता माथी प्रश्न मात्र उठाएन यसले राष्ट्र सेवकलाई निरास पारेको छ । राष्ट्र सेवकलाई आफ्नै पेशामाथी घृणा पैदा गराएको छ । उनले लेखेका छन्, ‘कहिलेसम्म हेर्नुपर्छ यस्तो कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यस्ता पिडाहरु ?’ प्रधानमन्त्रीको चीन भ्रमणले नेपालीहरुमा उत्साह थप्नुको सट्टा नैरस्यता र घृणा पैदा गराएको छ । राष्ट्र र नेपालीलाई माया गर्ने नेता नभएको भन्दै राष्ट्रियता भएको नेताको पर्खाइमा बस्नुको विकल्प नभएको उनको कथन छ ।
प्रधानमन्त्रीले चीन भ्रमणमा राष्ट्रिय ध्वजावाहक विमान हुँदाहुँदै निजी विमान प्रयोग गरी गलत काम गरेको भन्दै क्याप्टेन लामाले प्रश्न चिह्न खडा गरेका छन् । हिमालयन एयरले एओसी पाउन अझै केही समय लाग्ने छ भने सोको लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने हुन्छ । हाल प्रधानमन्त्रीकै दवावमा विशिष्ट उडाउका लागि विशेष अनुमति लिएर गएको नेपाल नागरिक उड्यन प्राधिकरण स्रोतले जानकारी दिएको छ । चीन भ्रमणलाई लिएर स्वगत गर्नुपर्नेमा निजी विमानमार्फत गएको भन्दै विभिन्न खालका टिकाटिप्णी भएको छ ।