Logo

पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध : मुख्य राजमार्गदेखि सहायक सडकसम्म बन्द हुँदा यात्रु प्रभावित

पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध : मुख्य राजमार्गदेखि सहायक सडकसम्म बन्द हुँदा यात्रु प्रभावित



काठमाडौं । देशभर अविरल वर्षासगैँ खसेको पहिरोले विभिन्न राजमार्ग तथा सडकहरु अवरुद्ध भएका छन् । जसका कारण समयमै गन्तब्यमा पुग्न नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेको छन् । वर्षापछि आएको पहिरोका कारण देशकै मुख्य सडकका रुपमा रहेको देशको पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८ः५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

नारायणगढ–मुग्लिन हुँदै जाने सवारीसाधन नवलपुरमै रोकियो

पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सडक रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको बताए ।

“नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ”, उनले भने, “चितवनतर्फ सवारीसाधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारीसाधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौँ ।”चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्नेबाहेकका सवारीसाधनलाई भने गन्तव्यसम्म जान दिइएको बताउनुभयो । आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ । वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिलेसम्म पनि लेदो आइरहेको र सडक खुलाउने कार्य सुरु गर्न समस्या भइरहेको उनको भनाइ छ ।

विगतमा ठूलो पहिरा गएकाले सोही पहिरा हुँदै लेदो आउदा पटक–पटक समस्या भइरहेको छ । सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको उक्त योजना कार्यालयले जनाएको छ । गत भदौ ११ गते र असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडाँै, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरूलाई समस्या हुँदै आएको छ ।

त्यस्तै सोमबार बिहानदेखि नै हालसम्मै बेँसीसहर चामे सडकसमेत अवरुद्ध कायम रहेको छ । यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ र मनाङको चामे गाउँपालिकास्थित कोत्रेमा गएको पहिराको कारण सडक अवरुद्ध भए पनि कोत्रेमा भने सोमबारबाटै सवारी सञ्चालन हुँदै आएको थियो । कोत्रेमा २० मिटर सडक बगाएको थियो भने रामबजार नजिकै ढुङ्गा माटाको पहिराले सडक अवरुद्ध बनाएको थियो । सूचना अधिकारी एवं इञ्जीनियर अधिकारीले भने, “रामबजार नजिकको पहिरो हटाउने कार्य भइरहेको र आज १० बजेतिरबाट सडक सञ्चालन हुन सक्नेछ ।” हाल पानी परिरहेको र फेरि पनि पहिरो आएमा भने थप समस्या हुने बताइएको छ ।

मेलम्ची–१० मा सडक अवरुद्ध

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ । पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने प्रमुख उनको भनाइ छ । पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ ।

पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।
सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताए । दुई दिनदेखिको वर्षात्का कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण सडक अवरुद्ध

केही दिनयताको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा सडक भासिदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार सोमबार साँझ ६ः०० बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ । कास्कीको रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिराका कारण अवरुद्ध भएको छ । बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमबार साँझ पहिरो आई बाटो बन्द भएको बताइन्छ । पर्यटकीय गन्तव्य घान्द्रुक जाने एकमात्र सडक पहिराले अवरुद्ध भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् ।

यसैगरी सोमबार राति १०ः०० बजेको समयमा पोखरा–२९ घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ओभरफ्लो हुँदा राजमार्ग केही समय अवरुद्ध भएको बताइन्छ । पानी सडकमा जाँदा सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक तिवारीले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध भएको बाटो खुलाउने पहल भइरहेको जानकारी दिए । कास्कीमा गत शनिबार रातिदेखि निरन्तर ठूलो वर्षा भइरहेको छ । अविरल वर्षाका कारण आइतबार बिहान पोखरा–६ मा पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने अर्का एक घाइते भए । यसैगरी पोखरा–१३ स्थित कमलपोखरी क्षेत्रका दर्जनौँ घर अविरल वर्षाका कारण डुबानमा परेका छन् ।

बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध

अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ । बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् ।

बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ । हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ । मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL