Logo

भूराजनीति र मुद्रास्फीतिको दबाबले विश्व बजारमा सुनको माग घट्यो, के छ नेपालको अवस्था ?

भूराजनीति र मुद्रास्फीतिको दबाबले विश्व बजारमा सुनको माग घट्यो, के छ नेपालको अवस्था ?



काठमाडौं । विश्वभर सुनको माग घट्दो क्रममा रहेको देखिएको छ । विश्व गोल्ड काउन्सिल (डब्लूजीसी) को प्रतिवेदनले सुनको विश्वव्यापी माग घटेको देखाएको हो । प्रतिवेदनअनुसार सुनको विश्वव्यापी माग वार्षिक आठ प्रतिशतले घटेर ९४८.४ टन पुगेको छ । यो २०२१ को जुन क्वाटरमा १०३१.८ टन थियो ।

सुनको इलेक्ट्रोनिक ट्रेडेड फन्ड (ईटीएफ) बहिर्गमनमा भएको वृद्धि, केन्द्रीय बैंकको खरिदमा आएको गिरावट र प्रविधि क्षेत्रबाट कम मागका कारण वार्षिक माग प्रभावित भएको प्रतिवेदनले जनाएको छ । भूराजनीतिक जोखिम र मुद्रास्फीतिको दबाबको निर्माणमा अप्रिलमा प्रारम्भिक गिरावट पछि, लगानीकर्ताहरूले द्रुत रूपमा बढ्दो ब्याज दर र बलियो अमेरिकी डलरमा आफ्नो ध्यान केन्द्रित गरेपछि सन् २०२२ को दोस्रो त्रैमासिकमा सुनको मूल्य ६ प्रतिशतले घट्यो ।

अप्रिल–जुन त्रैमासिकमा सुनको औसत मूल्य कर बिना १८७० डलर प्रति औंस थियो । अन्तर्राष्ट्रिय बजारमा गत वर्ष १८१६ डलर प्रति औंस मूल्य रहेको थियो । प्रतिवेदन अनुसार, अप्रिल–जुन त्रैमासिकमा समग्र लगानीको माग २०२१ को सोही अवधिमा २८६.१ टनको तुलनामा २६ प्रतिशतले २०५.८ टनमा घटेको छ । ‘२०२२ को पहिलो छ महिनामा विश्वव्यापी सुन बजारलाई व्यापक मुद्रास्फीति र भूराजनीतिक अनिश्चितता जस्ता समष्टि आर्थिक कारकहरूले साथ दिएको थियो, तर यसले अमेरिकी डलरको मूल्यमा लगभग अभूतपूर्व वृद्धिसँगै बढ्दो ब्याजदरबाट पनि हेडविन्डको सामना गर्यो’, वरिष्ठ विश्लेषक लुइस स्ट्रीटले भनिन । तर, पहिलो त्रैमासिकमा असाधारण रूपमा उच्च स्तरबाट मूल्यहरू सहज भएको देखिए पनि सुन यस वर्ष अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने सम्पत्तिहरू मध्ये एक भएको उनले बताइन् ।

डब्ल्यूजीसीका वरिष्ठ विश्लेषक एम्मा लुइस स्ट्रिटका अनुसार २०२२ को दोस्रो क्वार्टरमा सुनका लागि जोखिम र अवसर दुवै छ । सुरक्षित लगानीका रूपमा सुनको माग बलियो रहने अपेक्षा गरिएको तर, थप मौद्रिक कडाइ र डलरको मूल्य थप बलियो हुने चुनौती पनि रहेको एम्माले बताएकी छन् ।

यसैबीच, जनवरी–मार्च त्रैमासिकमा बलियो ईटीएफ प्रवाहका कारण २०२२ को पहिलो छ महिनामा सुनको माग १२% बढेर २,१८९ टन पुगेको छ, जुन अघिल्लो वर्षको अवधिमा १,९५१ टन थियो । बार र सिक्काको कुल माग दोस्रो त्रैमासिकमा २४४.५ टनमा रह्यो, जुन एक वर्ष अघि २४५.५ टन थियो । किनभने चीनमा तीव्र गिरावट भारत, मध्य पूर्व र टर्कीमा कमजोृर आर्थिक वृद्धिले यसमा कारण रहेको थियो । यद्यपि, गहनाको माग वार्षिक रूपमा ६.१५ प्रतिशतले बढेर ४८४.३ टनमा पुगेको छ, जसले भारतीय बजारमा रिकभरीलाई मद्दत गरेको छ,’ प्रतिवेदनमा उल्लेख छ । ‘चीनबाहेक धेरैजसो बजारहरूमा गहनाको व्यापार राम्रो रह्यो । भारतमा गहनाको बलियो विक्रिले चीनमा २८ प्रतिशतको उल्लेखनीय गिरावटलाई सन्तुलनमा राख्यो’ प्रतिवेदनमा छ । यो अवधिमा भारतले आफ्नो सुनको भण्डारमा ७७ टन सुन थपेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रविधि क्षेत्रमा सुनको माग गत वर्षको सोही अवधिमा ७९.८ टनको तुलनामा २ प्रतिशतले घटेर ७८.४ टन भएको थियो । किनभने मुद्रास्फीतिको दबाब र भूराजनीतिक समस्याका कारण विश्वभर उपभोक्ता माग दोस्रो त्रैमासमा घट्न थालेको थियो । यस्तै आपूर्ति श्रृंखलामा अवरोध पनि कारण रह्यो’, रिपोर्टमा छ । यसबाहेक, प्रतिवेदनले खानी उत्पादन र पुनः प्रयोग गरिएको सुनलगायत कुल आपूर्ति गत वर्षको सोही अवधिमा १,१३७.४ टनको तुलनामा त्रैमासिक अवधिमा ५ प्रतिशतले बढेर १,१९२.७ टन रहेको जनाएको छ । समीक्षा अन्तर्गत त्रैमासिक अवधिमा पुनः प्रयोग गरिएको सुनको मात्रा वार्षिक आधारमा ५% बढेर २९१.१ टन पुगेको छ, जुन गत वर्ष २७८.५ टनको तुलनामा भारत, टर्की र अधिकांश युरोपेली देशहरूमा उच्च मात्रामा देखिएको प्रतिवेदनमा छ ।

नेपालको अवस्था

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ अर्थात २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ३५ अर्ब बढी मूल्य बराबरको सुन नेपालले आयात गरेको छ । नेपालले मुख्य रुपमा सुन आयात गर्दै आएका युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट नेपालमा एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको हो ।

सो अवधिमा युएई र टर्कीबाट नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँको सुन आएको विभागले जनाएको छ । उक्त मुल्यमा नेपालमा ५ हजार ५३ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्