Logo

पत्रकारको न्यूनतम तलब १९ हजार ५ सय बनाउने तयारी,योग्यता तोकी इजाजतपत्र दिने

पत्रकारको न्यूनतम तलब १९ हजार ५ सय बनाउने तयारी,योग्यता तोकी इजाजतपत्र दिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी वैशाख १ गतेदेखि पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ बनाउने तयारी गरिएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार पत्रकारको न्यूनतम पारिश्रमिक वैशाख १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको छ ।

उनका अनुसार समितिले पुनरावलोकन गरी सिफारिस गरेको न्यूनतम पारिश्रमिक १९ हजार ५०० र सञ्चार खर्च १ हजार रुपैयाँको प्रस्ताव गरेको हो ।

शुक्रवार समितिले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री राईले सञ्चारगृहको वर्गीकरण गर्ने, पत्रकारको मापदण्ड तोक्ने, पत्रकारको योग्यता तोकी इजाजतपत्र दिने लिने प्रक्रियासमेत अघि बढाइने जानकारी दिए । साथै आवश्यकता अनुसार सञ्चारगृह गाभ्ने विकल्पसमेत खुला राख्न सुझाव ए । उनले अहिलेकै जसरी ठूलो सङ्ख्यामा सञ्चारगृह खुल्ने क्रम रोकिनुपर्नेमा जोड दिए।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सम्बन्धित निकायलाई यही चैत १७ गतेभित्रै बुझाउन आग्रह गरे ।

सरकारद्वारा केही समयअघि गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय सुझाव आयोगका संयोजक काशीराज दाहालले श्रमजीवी पत्रकार ऐन, २०५१ लागू भएको लामो समय हुँदा समेत पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु दुःखद् भएको बताए । साथै सो लागू गर्न सरकार र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने धारणा राखे।

पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले श्रमजीवी पत्रकारले हाल पाइरहेको सेवा, सुविधासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । हाल पत्रकारले पाउँदै आएको न्यूनतम पारिश्रमिक १० हजार आठ सयबाट बढाउन समितिले सिफारिस गरेको बताए।

प्रतिक्रिया दिनुहोस्