Logo

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने, टप स्टेशनको होटल अन्तराष्ट्रिय चेन होटलको व्यवस्थापनमा

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने, टप स्टेशनको होटल अन्तराष्ट्रिय चेन होटलको व्यवस्थापनमा



काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन् ।

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । ‘केवलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मीटर पहँुचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेशनको सव–इस्टक्चरको निर्माण कार्य करिव सम्पन्न भई सुपर स्टक्चरको कार्य र साईट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,’ उनले भने ।

साथै, उनले माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए । यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको ढकालले बताए ।
ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी समेत गराए । केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास रेका थिए ।

प्रतिक्रिया दिनुहोस्