Logo

सवा २ अर्ब रुपैयाँले घट्यो अलैंचीको निर्यात : उत्पादनमा ह्रास, किसानले उचित मूल्य पाएनन्

सवा २ अर्ब रुपैयाँले घट्यो अलैंचीको निर्यात : उत्पादनमा ह्रास, किसानले उचित मूल्य पाएनन्



काठमाडौं । नेपालबाट निर्यात हुने मुख्य वस्तुका रुपमा रहँदै आएको अलैचीको निर्यात घटेको छ । पछिल्लो बर्ष २ अर्ब १९ करोड ७३ लाख ६४ हजार रुपैयाँले अलैचीको निर्यात घटेको हो । गत बर्ष ७ अर्ब १ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको अलैची निर्यात गरेको थियो । भन्सार विभागको तथ्यांक अनुसार यो बर्ष सोही अवधिमा जम्मा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।

आर्थिक बर्ष ७७/७८ को तुलनामा आव ७८/७९मा अलैची निर्यात ३४ हजार ७ सय ५४ क्विन्टलले घटेको छ । आव ७७/७८ मा ८८ हजार ४ सय २७ क्विन्टल अलैची निर्यात भएकोमा आव ७८/७९ मा उक्त परिमाण ३४ हजार ७ सय ५४ क्विन्टलले घट्दै ५३ हजार ६ सय ७४ क्विन्टल मात्र अलैची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख भएको छ । उक्त ३४ हजार ७ सय ५४ क्विन्टल अलैची २ अर्ब १९ करोड रुपैयाँ बराबरको रहेको छ । नेपालले अलैचीको निर्यात मुख्य रुपमा भारत र पाकिस्तानतर्फ गर्दै आएको छ ।

पछिल्लो एक बर्षमा भारततर्फ भएको निर्यात २ अर्ब १४ करोड ५२ लाख ७७ हजार रुपैयाँले घटेको हो । भारततर्फ आव ७७/७८ मा ६ अर्ब ९२ करोड ४२ लाख ६६ हजार रुपैयाँ बराबरको ८५ लाख ९६ हजार ७ सय ६२ किलोग्राम अलैची निर्यात गरेको थियो । आव ७८/७९ मा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४ सय ४३ किलोग्राम मात्र निर्यात भएको छ ।

यस्तै पाकिस्तानतर्फ भएको अलैची निर्यात पनि पछिल्लो एक बर्षमा ५ करोड २० लाख ८८ हजार रुपैयाँले घटेको छ । आव ७७/७८ मा ८ करोड ६५ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ४६ हजार किलोग्राम अलैची निर्यात गरेको थियो । आव ७८/७९ मा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैची निर्यात भएको छ ।

नेपालमा नगदे बालीको रुपमा रहेको अलैची निर्यातबाट राज्यले अर्बाै आम्दानी गर्ने गरेको छ । यसरी अलैची निर्यात घट्दा यसको असर समग्र निर्यात व्यापारमा परेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । पछिल्लो समय व्यवसायीले उचित मूल्य नपाउदा अलैची निर्यात प्रभावित भएको छ । नेपाल अलैची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईका अनुसार गत असोज कार्तिकमा यसको मूल्य १ हजार २ सय रहेको थियो , पछिल्लो समय घटेर ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ ।

मूल्य घटेका कारण असार मसान्तभित्र विक्रि हुनुपर्ने अलैची विक्री नभएको हो । उनले मूल्य घटेकै कारण किसान र व्यवसायीले अलैची होल्ड गरेर राखेको बताए । यसका साथै २० प्रतिशत उत्पादनमा कमी आउनु र मूल्य गिरावटका कारण क्यारिओभर हुँदा निर्यातमा असर देखिएको उनको भनाई छ । मुख्यतया नेपालको पुर्वी पहाडी जिल्लामा अलैची उत्पादन बढि हुने गरेको छ । संखुवासभा, इलाम, पाँचथर, धनकुटा र भोजपुर लाई अलैची उत्पादनका प्रमुख जिल्लाका रुपमा चिनिएको छ । नेपालले गर्ने निर्यातहरुमा अलैचीले मुख्य स्थान लिने गरेको छ ।

नेपालले अलैची निर्यात मात्रै नभएर आयात पनि गर्ने गरेको छ । पछिल्लो एक बर्षमा आयात गरेको अलैचीको परिणाममा पनि गिरावट आएको छ । विभागको तथ्यांकअनुसार आव ७७/७८ मा ६९ लाख ३७ हजार रुपैयाँको ६ हजार २ सय ९३ किलोग्राम अलैची आयात गरेको थियो । यस्तै आव ७८/७९ मा जम्मा ३ लाख ४ हजार रुपैयाँको १ सय ७५ किलोग्राम अलैची आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्