Logo

सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन सकारात्मक : निर्माण व्यवसायी महासंघ

सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन सकारात्मक : निर्माण व्यवसायी महासंघ



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन सकारात्मक भएको बताएका छन् । एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा राजधानीमा भएको भेलामा उनीहरूले व्यवसायी मैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखे ।

प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन आएसँग सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । ‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेशालाई सम्मानित बनाउने दायित्व अब व्यवसायीको काँधमा आएको छ’ अध्यक्ष सिंहले भने।

समृद्धिका सारथी निर्माण व्यवसायीहरू विना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनले बताए । महासंघका मानार्थ सदस्य समेत रहनु भएका संघीय सांसद् जीप छिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा होइन ऐनमा नै संशोधन आवश्यक रहेको टिप्पणी गरे ।

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी मात्र होइन कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले व्यवसायीहरूलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए ।

महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । त्यस्ता विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीहरूले नै राम्रो काम गरेको उनको दाबी थियो । महासंघका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले २५ लाख भन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्ने तर्क गरे ।

निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीहरूले गरेको राम्रा कामको प्रचार प्रसार हुन नसकेको बताए । मुलुकमै निर्माण सामाग्रीको उद्योग स्थापना गर्न व्यवसायीहरूलाई उनले सुझाव दिए । कार्यक्रममा निर्माण व्यवसायीहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीहरूका समस्या बारे चर्चा गरेका थिए ।

यसैबीच महासंघको विधान बमोजिम एसोसिएट उपाध्यक्ष स्वत एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधान अनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरेको छ । सचिवद्धयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् भने उपसचिव माधवप्रसाद आचार्य चयन भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाई चयन भए ।

सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् । सल्लाहकारमा सोम प्रसाई, विनोद भट्टराई र केशव त्वानावसु चयन भएका छन् । भेलामा महासंघको कार्य समितिमा एशोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL