Logo

नेपालीलाई जतापनि हैरानी : पासपोर्टको आवेदन दिन नै विचौलियाको भर, पालो पाउनै एक महिना

नेपालीलाई जतापनि हैरानी : पासपोर्टको आवेदन दिन नै विचौलियाको भर, पालो पाउनै एक महिना



काठमाडौं । सरकारी सेवा लिन नेपालीहरुले कति झञ्झट बेहोर्नुपर्छ भन्ने कुरा त धेरै नेपाली सरकारी कार्यालय जाने भनेपछि निधार खुम्च्याउँछन् । सरकारी कार्यालयमा कर्मचारीको व्यवहार, ढिलासुस्ती र भ्रष्ट प्रवृत्तिका कारण सर्वसाधारण सधै पीडित बन्दै आएका छन् । यस्तोमा सर्वसाधारणको सहजताका लागि भन्दै आएको सरकारी कार्यालयको अनलाइन सेवा पनि सर्वसाधारणका लागि कष्टपूर्ण र विचौलियाका लागि कमाउधन्दा बन्दै गएको छ । नेपालीले अनलाइन सेवाका नाममा राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, पासपोर्टका लागि सकस भोग्दै आएका छन् ।

पछिल्लो समय विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) का लागि आवेदन दिन सेवाग्राहीले हैरानी बेहोर्नुपरेको छ । विशेषगरि अनलाइन बाट ई–पासपोर्ट लिन चाहनेले उक्त समस्या बेहोर्दै आएका छन् । गत बर्ष मंसीर १ गतेदेखि ई–पासपोर्ट वितरण हुन थालेको भएपनि राहदानी विभागले अहिलेसम्म सहज व्यवस्था नर्दा सेवाग्राहीले सकस बेहोरिरहेका छन् ।

विभागले अनलाइनबाट पासपोर्ट अर्थात राहदानी लिन आवेदन खुला गरेयता उक्त सेवा लिन सेवाग्राहीले झन बढी खर्चिलो र झन्झटिलो बन्दै गइरहेको भन्दै आक्रोश व्यक्त गर्ने गरेका छन् । सेवाग्राहीले अनलाइनबाट मिति र समय बुक गर्न हैरानी बेहोर्नुपरेको बताएका छन् । राहदानी लिनका लागि दाङबाट आएका रामजनम चौधरीले जिल्लाबाटै पासपोर्ट लिन सकिने प्रावधान भए पनि चाहिएको वेलामा जिल्लामा पाउन नसकिने हो कि भन्ने चिन्ताले राजधानी नै धाउनुपरेको बताए । उनले देश संघीयतामा गएपनि सेवा सुविधाको सुनिश्चितता अझै जिल्लावासीसम्म पुग्न नसकेकोमा दुखः व्यक्त गरे ।

यस्तै राहदानी लिन सोलुखुम्बुबाट काठमाडौं आएका मिलन राईले छिटो र प्रभावकारी हुन्छ भनेर जिल्लाबाट काठमाडौं आएको तर ३ दिनदेखि फारम भर्न कोसिस गर्दा पनि आफुले नसकेको र राहदानी विभाग नजिक रहेका प्राय सबै साईबरले ३ हप्तादेखि १ महिनासम्ममा पालो आउने जानकारी दिएको बताए । उनले यसरी समय लम्बिदै जाने हो भने राहदानी लिदासम्ममा राहदानीका तिर्नुपर्ने राजस्व शुल्कको ५ गुणासम्म बढी खर्च हुने बताए । राजस्व शुल्क १२ हजार तिर्नुपर्ने भए पनि महिना दिन काठमाडौं बस्दा र यातायात खर्च जोडदा ५ गुणा बढी खर्च हुने बताए ।

यस्तै कैलालीका नबराज भट्टले १० दिन पहिला समय र मिति लिइदिन राहदानी विभाग नजिकैको साइबरबाट ३ सय रुपैयाँको रसिद काटेका थिए । उक्त रसिद काटदा साइबरले हप्ता दिनमा कार्यालय भित्र जाने समय र मितिबारे तपाइको मोवाईलमा म्यासेज आउछ भनेको तर, उक्त समयमा त्यसवारे जानकारी नआउँदा फेरी साइबरमा सम्पर्क राख्दा सिस्टममा कम कोटा हुँदा भर्न नसकिएको हो, तपाईको पालो आएको हो, हिजो पनि कोसीस गरेको पाइएन, आज फेरी प्रयास गर्छु सफल भएमा तपाईको मोवाइलमा म्यासेज आउँछ भन्दै पुरानै जवाफ दोहोर्याएको उनले बताए ।
दैनिक कोटा सिस्टम अनुसार अनलाईन फराम भर्ने व्यवस्था भएयता राजधानीबाट राहदानी लिनका लागि अनलाईल फारम भर्न झन हैरानी बढेको हो । राहदानी विभागका अनुसार अहिले दैनिक ६ हजारले देशभरबाट आवेदन दिन मिल्ने प्रावधान रहेको छ । राजधानीमा भने दैनिक २ हजार ५ सयले आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ । ई–पासपोर्ट लागु हुनुअघि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) र त्यसअघि हस्तलिखित पासपोर्ट जारी गरिन्थ्यो ।

राहदानी विभागले हरेक दिन साढे ४ बजेदेखि अनलाइनमा निश्चित कोटा छोडने गरेको छ । निश्चित मात्रामा छोडिएको कोटा केही समयमै प्याक हुने गरेको र एक दिनमा एउटा कम्प्युटर बाट २ जनासम्मको मुस्किलले भर्न सकिएको साइबर संचालकहरु बताउँछन् । उनीहरुका अनुसार यस्तो अत्यावस्यक सेवामा कोटा तोकिदिदा सेवाग्राही मर्कामा परेका छन् ।

पासपोर्ट नवीकरणका लागि काठमाडौं आएका चितवनका मनोज गौतमले आईतवारदेखि लगातार ४ दिन देखि साढे ४ बजे अनलाईन फारम भर्न कोसिस गर्दा पनि भर्न नसकेको बताए । त्यसपछि उनले राहदानी विभाग नजिकै रहेका साइवरमा सम्पर्क राखेका छन । तर, उनलाइ विभाग नजिकैको एक साइबरले ‘हाम्रोमा ३ हप्तासम्मका लागि प्याक भइसकेको’ भन्ने जानकारी दिएको र साइबरले नै अन्य कुनै साइबरमा छिटो भर्न पाइन्छ कि भनेर बुझ्न उपाय सुझाएको उनले बताए ।

यस्तै कञ्चनपुरका बिक्रम जोशीले पहिलोपटक राहदानी लिदा रातिदेखि नै लाइन बसेर टोकन लिई त्यहिदिनमै प्रक्रिया सकेर १० दिनमा पासपोर्ट लिन सफल भएको बताए । उनले यसपटक राहदानीका लागि अनलाईनमार्फत आवेदन दिन पाइने समाचारले पहिले भन्दा सजिलै पासपोर्ट लिन पाइन्छ भनेर खुसि भएको तर वास्तविकता पहिलेको भन्दा झन कष्टकर, झन्झटिलो र खर्चिलो भएको बताए । उनले पहिला पासपोर्ट आवेदन दिएर पासपोर्ट हात पर्ने समयभन्दा धेरै समय अहिले अनलाइन आवेदनको लागि मिति र समय पाउनै लाग्ने गरेकोमा सेवा लिन हैरानी भएको बताए ।

देशभरबाट विद्युतिय पासपोर्ट वितरण गरिएपनि राजधानीबाट पासपोर्ट लिनेको चाप बढ्दो रहेको छ । दैनिक रुपमा राजधानीबाट जम्मा २ हजार ५ सयले मात्रै आवेदन दिन मिल्ने भएको कारण सर्वसाधारणले आवेदन दिन पालो कुर्नुपरेको अवस्था छ । यसअघि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएर राहदानी विभाग काठमाडौंबाट इमर्जेन्सी पासपोर्ट निकाल्न सकिन्थ्यो । अहिले इ–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र आवश्यक बनाइएको छ । ई–पासपोर्ट आवेदनमा देखिएको समस्या समाधानका लागि अनलाइन आवेदन भर्ने समय बढाउनुपर्ने, तोकिएको कोटा संख्या बढाई सहजरुपमा सेवा लिन सकिने बनाउनुपर्ने भएपनि राहदानी विभागले भने त्यसतर्फ पहल अघि बढाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL