Logo

युद्धमा होमिएका रुस र युक्रेनसँग नेपालको व्यापार : नेपालबाट यार्सागुम्बा जान्छ, उताबाट धनियाँ र केराउ आउँछ

युद्धमा होमिएका रुस र युक्रेनसँग नेपालको व्यापार : नेपालबाट यार्सागुम्बा जान्छ, उताबाट धनियाँ र केराउ आउँछ



काठमाडौं । रुस र युक्रेन पछिल्लो ५ महिनायता युद्धमा रहेको अवस्था छ । यी दुई देशबीचको युद्धले विश्वभर खाधान्न आपूर्तिमा समस्या भएको छ भने पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । युद्धकै बिषयलाई लिएर विश्व व्यापार संगठनदेखि अंकट्याडलेसमेत विश्व व्यापारबारे चिन्ता व्यक्त गरेको अवस्था छ । विश्व बैंकले त साना गरिव देशहरुमा भोकमरी नै सुरु हुने प्रक्षेपण गरेको थियो । यसो हुँदाहुँदै पनि हाल अवस्था सामान्यतर्फ फर्किईरहेको छ ।

विश्वभर कुल व्यापारको २५ प्रतिशत गहुँ र १४ प्रतिशत मकैको हिस्सा नै यी दुई देशले धान्छन् । अझ रुसले विश्वभर हुने कच्चा पेट्रोलियम तेलको १४ प्रतिशत र प्राकृतिक ग्याँसको ९ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । यी दुबै देश युद्धमा होमिँदा स्वभाविक रुपमै विश्वबजारमा खाद्यान्नदेखि इन्धनको मूल्य र व्यापार श्रृङ्खलामै ठूलो उत्तारचढाव आयो भने सिपिङ प्रणालीमै हलचल भयो । महामारीबाट उम्किएर लयमा फर्किदै गरेको विश्व अर्थतन्त्रमै धक्का पुगेको छ । यस्तो हुँदाहुँदै पनि यी देशबाट नेपाल आउने वस्तु रोकिएको वा अभाव भएको छैन् । व्यवसायीका अनुसार केही व्यापारीहरुले अगाडि नै ल्याएका वस्तुको मूल्य अचाक्ली बढाएपनि वास्तवमा मूल्य बढाउनुपर्ने कारण थिएन ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको पछिल्ला ४ बर्षको तथ्यांकलाई मान्दा प्रत्येक आर्थिक बर्ष नेपालमा १० अर्ब बढीको वस्तु युक्रेनबाट आएको देखिन्छ भने रुसबाट २ देखि साढे २ अर्ब बढीको वस्तु आयात भएको देखिन्छ । पछिल्लो ४ बर्षको तथ्यांकलाई केलाउँदा आव २०७५÷७६ मा युक्रेनबाट १० अर्ब १४ करोडको र रुसबाट १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ । यस्तै त्यसको पछिल्लो बर्ष २०७६÷७७ मा नेपालले युक्रेनबाट १० अर्ब २२ करोड र रुसबाट २ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

साथै अघिल्लो आर्थिक बर्ष अर्थात २०७७÷७८ मा युक्रेनबाट नेपालले १७ अर्ब १७ करोडको र रुसबाट २ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ । यस अवधिमा हेर्दा यी दुई देशबाट क्रमशः आयात हुने वस्तुको परिमाण बढिरहेकै छ । तर, गत आर्थिक बर्ष भने यी देशबाट हुने आयात व्यापार प्रभावित हुने अनुमान गरिएको थियो । उक्त अनुमानलाई पनि त्यहाँबाट आएको वस्तुको प्रवाहरले गलत सावित गरिदियो ।

अर्थात, गत आर्थिक बर्षभरी युक्रेनबाट मात्रै २१ अर्ब २२ करोड ९५ लाख रुपैयाँ बढीको वस्तु आयात हुँदा रुसबाट ५ अर्ब २० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ । यो आयातलाई हेर्दा अघिल्लो आर्थिक बर्षको तुलनामा युक्रेनबाट हुने आयात ४ अर्बले बढी हो भने रुसबाट हुने आयात करिव ३ अर्बले बढी हो । अर्थात यी दुई देशबीच युद्ध चलिरहेपनि युद्ध हुनु अगावै अर्डर गरेर लोड भइसकेका वस्तुहरु नेपाल आइरहको देखिन्छ ।

के के हुन्छ आयात ?

हाल युद्ध भुमरिमा घुमिरहेको युक्रेनबाट नेपालले खासगरी कच्चा तेल बढी आयात गर्ने गरेको देखिन्छ । गत आर्थिक बर्षमा नेपालले युक्रेनबाट मात्रै १५ अर्ब ३ करोड रुपैयाँ बराबरको ९ करोड ५ लाख ५७ हजार लिटर कच्चा सुर्यमुखी तेल ल्याएको देखिन्छ । यस्तै नेपालले युक्रेनबाट खानेतेल उत्पादनकै लागि कोल्जा सिड, कच्चा भटमासको तेल, सुर्यमुखीको बियाँलगायत पनि आयात गरेको छ ।

यस्तै युक्रेनबाट पीना बोतलको विर्काे, बेकरी मेशिन, सुकेको केराउ, धनियाँको विउ, प्रिन्टरको टोनर, जनावरका खोपलगायत पनि नेपालमा आयात हुने गरेका छन् । युक्रेनबाट नेपालले मोबाईल, नेटवर्क सम्बन्धि उपकरण, स्मार्टकार्ड, स्मार्टवाच, मल, चकलेटलगायतका वस्तुहरु ल्याउने गरेको छ । नेपालले युक्रेनबाट वस्तु आयात गरेवापत गत आर्थिक बर्ष ४ अर्ब ८ करोड ८१ लाख रुपैयाँ राजस्व उठाएको छ ।

यस्तै युद्धमा होमिएको रुसबाट पनि नेपालले गत आर्थिक बर्ष सुर्यमुखीको कच्चा तेल नै ल्याएको देखिन्छ । यस अवधिमा नेपालले रुसबाट २ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख २८ हजार लिटर कच्चा सुर्यमुखी तेल आयात गरेको छ । यस्तै नेपालले रुसबाट धेरै आयात गरेको वस्तुहरुमा क्रमशः पोटासियम क्लोराईड, तोरीको बियाँ, धनियाँको बियाँ, सुकेको केराउ र चकलेट छ । यस्तै नेपालले यो देशबाट पत्रिका छाप्ने कागज, अप्टिकल फाईबर कच्चा भटमासको तेललगायत पनि आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट निर्यात पनि

युद्धमा होमिएका यी देशबाट नेपालले वस्तु आयात मात्रै गर्दैन निर्यात पनि गर्ने गरेको भन्सार विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार नेपालबाट युक्रेनमा गत आर्थिक बर्षमात्रै १८ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । जसमा गलैंचा, जडिबुटी, यार्सागुम्बालगायत वस्तुहरु नेपालबाट युक्रेन गएको देखिन्छ । यस्तै नेपालले युक्रेनमा गत बर्ष गहना, अगरबत्ती, मुर्तिलगायत बहुमूल्य वस्तु पनि पठाएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै रुसमा भने नेपालले गत आर्थिक बर्षभरी १९ करोड ८३ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको देखिन्छ । नेपालले रुसमा गत आर्थिक बर्ष चिया, अगरबत्ती, गलैंचालगायतका वस्तुहरु पठाएको तथ्यांकमा उल्लेख छ । नेपलले यस अवधिमा रुसमा ९ करोड ३८ लाख ५६ हजार रुपैयाँ बराबरको गलैँचा, ८ करोड २९ लाख रुपैयाँ बराबरको चिया र ३० लाख ३७ हजार रुपैयाँ बराबरको अगरबत्ती पठाएको हो ।

यस्तै नेपालबाट रुसमा जर्सी, यार्सागुम्बा, पेन्टीङ, पश्मिना, तामाको तारलगायत वस्तु पनि पठाउने गरेको तथ्यांकमा उल्लेख छ । नेपालले आयातको व्यापार बढी र निर्यातको व्यापार कम गर्ने यी दुई देशसँग घाटाको व्यापार गर्ने गरेको छ । गत आर्थिक बर्ष नेपालले युक्रेनसँगको वैदेशिक व्यापारमा २१ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्दा, रुससँग ५ अर्ब ४४ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL