Logo

कन्सुलर कर्प्स नेपालको १५ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस, डिनमा दिनेश श्रेष्ठ निर्वाचित

कन्सुलर कर्प्स नेपालको १५ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस, डिनमा दिनेश श्रेष्ठ निर्वाचित



काठमाडौं । अनोररी कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन । कन्सुलर कर्प्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो ।

आइतबार राजधानीमा आयोजित कर्प्सको १५ औं वार्षिक साधारण सभा एवं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो । हाल नेपालमा संसारका ५५ देशका प्रतिनिधिका रुपमा कन्सुलरहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।

नेपालस्थित कन्सुलरबाट सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध, उद्योग, व्यापार व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयमा काम हुँदै आएको छ । सम्बन्धित मुलुकसँग सिधा सम्पर्क र नजिक रहेर ति मुलुकहरुको प्रवद्र्धन र सम्बद्र्धनका निम्ति काम गरिरहेको कर्प्सले जनाएको छ ।

कप्र्सले नेपालको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ र व्यावहारिक बनाउँदै आर्थिक कुटनीतिमा विशेष जोड दिँदै आएको छ । कर्प्सले दुई देशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै आगामी दिनमा कर्प्सका गतिविधिलाई अझ सशक्त ढंगबाट अगाडि बढाउने नवनिर्वाचित डिन श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री नारायण खड्काले कन्सुलर कर्प्सले निर्वाह गरेको भूमिकाको उच्च प्रसंशा गर्दै उनीहरुले वैदेशिक व्यापार अभिवृद्धिसँगै दुई देशीय सम्बन्धलाई विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।

आर्थिक कुटनीतिलाई बलियो बनाउन नेपालस्थित कन्सुलरहरुले आआफ्नो तर्फबाट उल्लेखनीय योगदान पुरयाएको भन्दै यसलाई अझ सशक्त बनाउन उनले आग्रह गरे । सो अवसरमा परराष्ट्रमन्त्री खड्काले कर्प्सले राखेको सबै मागहरुमा आफू सकारात्मक रहेको र त्यो पूरा गर्ने वचन दिए ।

कर्प्स र मन्त्रालयबीचको सम्बन्ध एकआपसमा परिपूरक हुनुपर्ने भन्दै खड्काले विगतका दिनमा अन्तर्राष्ट्रिय सम्बन्ध र मानवीय साहयता उपलब्ध गराउने कार्यमा गरेको सहयोगको उच्च प्रशंसा गरे । कर्प्सका निवर्तमान डिन लोकमान्य गोल्छाको सक्रियतामा सरकारसँगको सहकार्य, अफगानिस्तानमा मानवीय सहायता प्रदान गरेको खड्काले स्मरण गरे ।

कार्यक्रममा अनोररी कन्सुलर कर्प्सको १५ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पारित भएको छ । साधारणसभामा नवनियुक्त कन्सुलरहरुलाई संस्थाको सदस्यताासमेत उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्