Logo

वीरगंज नाकाबाट १ बर्षमा ७ खर्ब ६ अर्बको वस्तु आयात, राजस्व लक्ष्यभन्दा बढी उठ्यो

वीरगंज नाकाबाट १ बर्षमा ७ खर्ब ६ अर्बको वस्तु आयात, राजस्व लक्ष्यभन्दा बढी उठ्यो



काठमाडौं । गत आर्थिक बर्ष २०७८÷७९ मा वीरगंज नाकाबाट मात्रै ७ खर्ब ६ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । वैदेशिक व्यापारका लागि सबैभन्दा ठुलो नाका मानिने वीरगंज भन्सार कार्यालयमार्फत उक्त वस्तुहरु आएको भन्सार विभागले जानकारी दिएको छ ।

विभागका अनुसार उक्त नाकाबाट खासगरी तेस्रो मुलुक र भारतबाट सामान आउँछ । यस्तै कोलकत्ता बन्दरगाहको बाटो हुँदै आएका चिनियाँ वस्तुहरु पनि सोही नाकाबाट प्राय आउँछन् । जसअनुसार वीरगंज भन्सार नाका निकासी पैठारीका लागि मूख्य र ठुलो नाका मानिन्छ । यो नाकासम्म सामान बोक्ने रेल पनि पुग्ने भएपछि नाकामा हुने वैदेशिक व्यापार अन्य नाकाको तुलनामा बढी नै हुन्छ ।

जसका कारण गत आर्थिक बर्षभरी विरगंज भन्सारबाट कुल ७ खर्ब ८६ अर्ब ७८ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमा निर्यात व्यापारको हिस्सा भने ज्यादै सानो अर्थात कुल वैदेशिक व्यापारको जम्मा १० दशमलव २३ प्रतिशत मात्र छ । गत आर्थिक बर्षभरी उक्त भन्सारबाट ८० अर्ब ४९ करोड ३३ लाख रुपैयाँ छ । यसरी आयातको हिस्सा बढी र निर्यातको हिस्सा सानो हुँदा यस नाकाबाट हुने व्यापारमा व्यापारघाटा मात्रै ६ खर्ब २५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक बर्षको तुलनामा ३७ प्रतिशतले बढी हो ।

राजस्व लक्ष्यभन्दा बढी

सरकारले वीरगंज भन्सारलाई गत आर्थिक बर्षभरी २ खर्ब ३ अर्ब २ करोड रुपैयाँको लक्ष्य दिएको थियो । सोही अनुसार कार्यालयले लक्ष्यभन्दा बढी २ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ राजस्व उठाएको छ । वस्तु आयातमा सरकारी प्रतिवन्धका बाबजुद पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

वीरगंज भन्सार कार्यालयले १ बर्षमा स्वास्थ्य जोखिम कर लक्ष्यभन्दा बढी ३७३ प्रतिशत, मूल्य अभिवृद्धि कर १३४ प्रतिशत, पूर्वाधार कर १०२ प्रतिशत र भन्सार महशुल ९४ प्रतिशत उठाएको छ । यसो हुँदा कार्यालयले १ बर्षमा भन्सार महशुलवापत ७३ अर्ब ३० करोड ७५ लाख, मूल्य अभिवृद्धि कर ८३ अर्ब ८० करोड र अन्तशुल्क १९ अर्ब ६४ करोड रुपैयाँ उठाएको छ ।

यी वस्तु आए धेरै

गत आर्थिक बर्षभरी भएको कुल आयात व्यापारको करिव ८० प्रतिशत बढी हिस्सा ओगट्ने २० वस्तुहरुमा इन्धन, गाडीलगायतका वस्तुहरु छन् । जसमा पहिलो स्थानमा डिजल त्यसपश्चात क्रमशः पेट्रोल, एलपी ग्याँस, एसेम्बल नगरिएका मोटरसाइकल, जीप, कार, भ्यानलगायतका वस्तुहरु छन् ।

गत आर्थिक बर्षभरी नेपालमा वीरगंज नाकाबाट डिजेल मात्रै १७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको १ लाख १७८ हजार ३ सय ६० किलोलिटर आयात भएको छ । यस्तै यस अवधिमा पेट्रोल ४ अर्ब ९७ करोडको, एलपी ग्याँस ३ अर्ब ७२ करोडको, १ अर्ब ४२ करोडको कच्चा भटमासको तेल, १ अर्ब १५ करोडको कच्चा पाम तेललगायत आयात भएको छ ।

यस्तै यस अवधिमा ८ करोड ३५ लाख रुपैयाँ बराबरको जीप कार भ्यान, २२ करोड ९७ लाख रुपैयाँको एसेम्बल नगरिएका मोटरसाइकल र १० करोड ६४ लाख रुपैयाँ बराबरको चकलेट आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL