Logo

आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरपालिकाको आग्रह

आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरपालिकाको आग्रह



काठमाडौं । काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो ।

योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बुधबार बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो ।

‘फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्नुपर्छ’, बैठकका अध्यक्ष (महानगरका) प्रमुख शाहले, आपसी समन्वय र सहयोगबाट फोहोरको दीर्घकालीन समाधान निकाल्न सकिनेमा विश्वाश व्यक्त गरे ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो । समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएको हो । उक्त अवधिभर फोहोर बाहिर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भयो ।

बैठकमा समितिका सदस्य एवं उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली सहभागी थिए ।

बैठकपछि महानगरबासीका नाममा अपिल जारी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्य सचिव लोकनाथ पौड्यालले, घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL