Logo

बैशाखदेखि ‘ब्लुबुक’ पनि स्मार्ट कार्डमा

बैशाखदेखि ‘ब्लुबुक’ पनि स्मार्ट कार्डमा



काठमाडौं । सरकारले २०७३ सालको शुरुवातसँगै सवारी धनी पूर्जा (ब्लुबुक)लाई स्मार्ट कार्डमा परिवर्तन गर्ने भएको छ । मौजुदा कागजी ब्लुबुकलाई स्मार्टकार्डमा परिवर्तन गर्नका लागि सम्पूर्ण तयारी पुरा भएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । साथै, नयाँ बर्षको शुरुवातसँगै सवारीधनीले स्मार्टकार्ड पाउने उनको भनाइ छ ।

विभागले लाइसेन्स र सवारीधनी पूर्जा (व्लूबुक) दुवैलाई स्मार्टकार्डमा परिवर्तन गर्ने कार्य अघि बढाएको थियो । जसमध्ये लाइसेन्सलाई यस अघि नै स्मार्टकार्डमा परिवर्तन गरिसकेको छ । ‘ब्लुबुकलाई स्मार्टकार्डमा परिवर्तन गर्नका लागि तथ्याङक संकलनलगायतका काम सकिएको छ,’ उनले भने, ‘ढिलोमा बैंशाखको अन्तिमबाट वितरण गरिने छ ।’

ब्लुबुकको स्मार्टकार्ड हाल चालक अनुमतिपत्रको स्मार्टकार्ड वितरण गर्ने सिस्टमबाटै बनाउन मिल्ने भएकाले धेरै समय नलाग्ने समेत विभागले जानकारी दिएको छ । ‘ब्लुबुकको लागि पनि हार्डडिक्स र सफ्टवेयर लाईसेन्सकै प्रयोग हुने छ,’ उनले भने, ‘कार्ड समेत सोही प्रयोग गर्न मिल्ने भएकाले तथ्याङक मात्र राखेर वितरण गरिने छ ।’

सवारी चालक अनुमतिपत्र तथा ब्लुबुकलाई स्मार्टकार्डमा परिवर्तन गर्न सरकारलाई एसियाली विकास बैंक (एडीबी) को सूचना सञ्चार प्रविधि (आईसीटी) अन्तर्गतको कार्यक्रमबाट २३ लाख अमेरिकी डलर अनुदान प्राप्त भएको थियो ।

स्मार्टकार्ड कार्यान्वयनमा आएसँगै सवारीधनीको नाम, ठेगाना, सवारीसाधनको इञ्जिन नम्बर, नविकरणलगायतका विषय मेसिनबाट रिड गर्न सकिने छ । जसले गर्दा सवारीसाधन चोरी तथा गलत नम्बर प्रयोग गरी गैरकानुनी क्रियाकलापमा प्रयोग गर्ने कार्य रोकिने छ । हाल कागजी ब्लुबुक हुँदा चारी गरी झुटो ब्लुबुक बनाएर गैरकानुनी कार्यमा प्रयोग गरिरहेका छन् । स्मार्टकार्ड संचालनमा आएसँगै सवारीसाधनबाट आउने राजस्व समेत बढ्ने विभागले जानकारी दिएको छ । स्मार्टकार्डको प्रयोगपछि कुनै पनि सवारीसाधन कस्को नाममा छ, नविकरण गरेको छ वा छैन भन्ने कुरा उक्त कार्डबाटै विभागको तथ्याङकसँग तत्काल जाँच गर्न सकिने छ ।

स्मार्टकार्डको लागि टेण्डर आब्हान गरिँदै

यातायात व्यवस्था विभागले स्मार्टकार्ड छपाइका लागि टेण्डर आब्हान गर्ने भएको छ । यस अघि छापिएका स्मार्टकार्ड सकिन लागेकाले नयाँ कार्ड छपाइका लागि टेण्डर आब्हान गर्न लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

यस अघि भारतको मद्रार्स प्रिन्र्टले १ लाख ६० हजार थान स्मार्ट कार्ड छापिदिएको थियो । उक्त कार्ड सकिन लागेकाले नयाँ छपाइका लागि टेण्डर आब्हान गर्न लागिएको हो । सो कार्यका लागि केही समयभित्रै बोलपत्र आब्हान गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL