Logo

एक वर्षमै यात्रुले ल्याएको ४८० किलो सुन राजस्वको दायरामा, अवैध सुन ल्याउनेको संख्या घट्दै

एक वर्षमै यात्रुले ल्याएको ४८० किलो सुन राजस्वको दायरामा, अवैध सुन ल्याउनेको संख्या घट्दै



काठमाडौं । गएको आर्थिक बर्ष २०७९/८० मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएको करिब ४८० किलो सुन तथा सुनका गहनालाई त्रिवि भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको छ ।

प्रचलित बजारदर अनुसार करिब ३ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको उक्त सुन विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूबाट राजस्व तिराउने प्रयोजनका लागि भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिएर नियमानुसार राजस्व दाखिला गरेपछि सम्बन्धित यात्रुलाई नै उक्त सुन फिर्ता गरिएको छ ।

यसबाट भन्सार कार्यालयले ४५ करोड ५८ लाख रुपैयाँ अतिरिक्त राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको कार्यलयको भनाई छ।

मूलुकको अर्थतन्त्रको लागि अनौपचारिक बजार राम्रो मानिदैन । व्यक्तिले धन सञ्चय गर्ने एउटा महत्वपूर्ण माध्यम सुन भएको हुँदा यसको अवैध ओसारपसार तथा अवैध खरिदबिक्री र भण्डारणले अनौपचारिक अर्थतन्त्रलाई नै मलजल गरिरहेको हुन्छ।

भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको सुन तथा सुनका गहनालाई भन्सार राजस्व तिरेसँगै अब खुला बजारमा नियमित रूपमा खरिद(बिक्री गर्न सकिने भएबाट औपचारिक अर्थतन्त्र अभिवृद्धि गर्न कार्यालयले गरेको प्रयासले योगदान पुग्नेछ । विभिन्न विज्ञहरूले नेपालमा ४० प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको बताउँदै आएका छन्, यद्यपी यसमा विस्तृत अध्ययन हुन आवश्यक छ।

कानूनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १ सय ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्। त्यसैगरी सुनको गहनाको हकमा अधिकतम २ सय ५० ग्रामसम्म साथमा लगाएर आउन पाईने कानूनी व्यवस्था छ, जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाईन्छ।

१ सय ग्राम भन्दा बढी काँचो सून र २५० ग्राम भन्दा बढी सूनका गहना ल्याएको हकमा त्यस्तो सून तथा सूनका गहना जफत गरी भन्सार कानून बमोजिम कारवाही गर्ने व्यवस्था रहेको छ। नेपालमा व्यक्तिगत प्रयोजनका लागि तोकिएको सीमासम्मको सून यात्रुले आफ्नो साथमा ल्याउन पाउँने व्यवस्था भए तापनि व्यवसायिक प्रयोजनका लागि भने वाणिज्य बैङ्कहरूले मात्र सुन आयात गर्न पाउने कानूनी व्यवस्था रहिआएको छ।

तर यात्रुको सुविधाको लागि ५० ग्रामसम्मको सूनका गहनामा दिईएको भन्सार राजस्व छुटसम्बन्धी व्यवस्थाको गलत प्रयोग गरी विदेशबाट नेपाल फर्कने यात्रुलाई भरिया बनाएर सुनको अवैध कारोबार गर्ने समूहले सुन ओसार(पसार गर्ने गरेको सूचना आएपश्चात गत वर्षको मंसिर १३ गते देखि कार्यालयले विशेष अपरेशन नै शुरू गरेको थियो।

यस क्रममा पहिलो दिनमा नै कार्यालयले ४ सय १५ जना यात्रुबाट झण्डै २१ किलो सुन नियन्त्रणमा लिन सफल भएको थियो । हालका पछिल्ला दिनहरूमा सुन लिएर आउने यात्रु तथा उनीहरूले ल्याउने सूनको परिमाण निकै घट्दै गएको छ। कार्यालयको अभिलेख अनुसार गत असार महिनामा दैनिक औषत ३० जना यात्रुबाट जम्मा १ किलो ५ सय ग्रामको हाराहारीमा सून तथा सूनका गहना भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला गराएर मात्र सम्बन्धित यात्रुलाई फिर्ता गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्