Logo

प्रमको चीन भ्रमण मन्त्रिपरिषद द्धारा स्वीकृत, औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय

प्रमको चीन भ्रमण मन्त्रिपरिषद द्धारा स्वीकृत, औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ देखि १४ सम्म गर्ने चीन भ्रमणलाई सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा गर्न लागेको भ्रमणलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।

प्रधानमन्त्री भएपछि यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । यसअघि प्रधानमन्त्रीले गत फागुन ७–१२ गतेसम्म छिमेकी मुलुक भारतको भ्रमण गरेका थिए ।

त्यसैगरी बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’(सार्क युवा बडापत्र) स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

१८ औं सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र अनुसार नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले नेपाल र रुसी महासंघबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ ।

सीमाङ्कन आयोगमा पौडेल बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलको अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।

आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहने छन् । सो आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL