काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्षमा सुरज वैद्य चयन भएका छन् । सोमबारदेखि उनले दक्षिण एसियाली क्षेत्रका उद्योगी व्यवसायीहरूको साझा संगठन सार्क चेम्बरको नेतृत्व सम्हालेका हुन् । यस अघि उनी सो संस्थाको वरिष्ठ उपाध्यक्ष थिए । वैद्यले २ वर्षको लागि अध्यक्षको कार्यकाल सम्हाल्लेका हुन् ।
सार्क चेम्बरको अध्यक्ष भएसँगै बैद्यले देशमा लगानीको वातावरण निर्माण गर्न सरकारले सार्क औद्योगिक पार्क बनाउनु पर्ने बताए । ‘सार्क क्षेत्रका उद्योगी व्यवसायीहरु नेपालमा लगानी गर्न तयार छन्,’ उनले भने, ‘तर, कहाँ र कसरी लगानी गर्ने भन्ने विषयमा अन्योल छ ।’ साथै, सार्क क्षेत्रका व्यवसायीले देशमा लगानी गर्नका लागि सहज वातावरण बनाउनु पर्ने समेत उनले बताए ।
अध्यक्ष भएसँगै वैद्यले आगामी दिनमा सार्क क्षेत्रभित्र लगानीको वातावरण बनाउन आफु लागिपर्ने बताए । साथै, सार्क सीईओ फोरम समेत निर्माण गरिने उनले जानकारी दिए । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । उनी चिया, अटो व्यवसायसँगै विभिन्न उद्योग व्यवसायमा संलग्न छन् ।
सार्क चेम्बरमा ७ जना उपाध्यक्ष रहने व्यवस्था छ । जसमा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले सिफारिस गरेका ओम राजभण्डारी उपाध्यक्ष भएका छन् । सार्कमा ८ वटा देशका चेम्बर तथा उद्योग वाणिज्य महासंघ सदस्य राष्ट्र छन् । यस अघि नेपालको तर्फबाट उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पदम ज्योति सार्क चेम्बरका अध्यक्ष भइसकेका छन् । अव १४ वर्षपछि मात्र नेपालले सार्क चेम्बरको अध्यक्ष पाउने छ ।
कार्यक्रममा चेम्बरमा नेपालका तर्फबाट प्रतिनिधत्व गरेका उपाध्यक्ष भण्डारीले आगामी दिनमा रोजगारीको विकास, उद्यमशिलता र लगानी बृद्धिका लागि जोड दिनुपर्ने बताए ।
सार्क वरिष्ठ उपाध्यक्षमा श्रीलंकका तर्फबाट अजित अतुहेवाले चयन भएका छन् । सार्कको विधानअनुसार वैद्य पछि उनी स्वत अध्यक्ष हुनेछन् ।