Logo

मन्त्रिपरिषदको निर्णय : निगमलाई कर छुट बापतको पैसा दिने, विद्युतीय गाडीलाई थप प्रोत्साहन

मन्त्रिपरिषदको निर्णय : निगमलाई कर छुट बापतको पैसा दिने, विद्युतीय गाडीलाई थप प्रोत्साहन



काठमाडौं । सरकारले विद्युतीय गाडीलाई थप छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा पेट्रोलियम पदार्थको खपत बढाउनका लागि विद्युतीय गाडीलाई थप छुट दिनेलगायतका अन्य विकल्पहरुको पालना गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थको उच्च खपतसँगै नेपालको व्यापारघाटाको खाडल बढ्दै गएकाले सरकारले यसको खपत नियन्त्रण गर्नका लागि तत्परता देखाईरहेको छ । तर, आगामी आर्थिक बर्षको बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले १ सय किलोवाट माथि क्षमताका गाडीमा पहिलेको तुलनामा भन्सार र अन्तशुल्क केहि बढाईदिएका थिए । तर, मन्त्रिपरिषदले भने छुट दिने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषदको बैठकले नेपाल आयल निगमलाई करबापत मूल्य समायोजन भएको रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । नेपालमा पेट्रोलियमको मूल्य अचाक्ली बढेको भन्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले केहिदिन अघि पेट्रोलियम पदार्थमा कर छुटसँगै मूल्य समायोजन गरेको थियो । आयल निगमले भने कर छुट गरिएको पैसा उपलब्ध नगराएपछि झनै टाट पल्टिने बताउँदै आएको थियो ।

यस्तै मन्त्रिपरिषदले विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा नेपाल सहभागी हुने, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने, नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्नेलगायत ११ निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्