काठमाडौं । पछिल्लो समय श्रीलंकाको आर्थिक संकटले विश्वलाई नै हल्लइदिएको छ । दक्षिण एशियाकै सबल अर्थतन्त्र भएको देश करीब २ वर्षकै अवधिमा पूर्णतया संकटको अवस्थामा छ र जनता सडकमा आइपुगेका छन् । श्रीलंकाको राष्ट्रपति नै देश छाडेर भाग्नुपरेको अवस्था छ ।
तर, अहिले श्रीलंका संकटको बाटोमा क्रमशः दक्षिण एशियाका अन्य देशहरु पनि उन्मुख भइरहेका विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विश्लेषणहरुबाट उजागर भइरहेको छ । पाकिस्तान होस् वा नेपाल पछिल्लो समय खराब आर्थिक अवस्थाबाट गुज्रिदै गएका छन् । जसका कारण यी देशका जनतामा पनि आक्रो बढ्दै गएको देख्न सकिन्छ । बढ्दो महँगी (मुद्रास्फीति) को विरुद्धमा जनता सडकमा उत्रिन थालेका छन् । यससँगै अफगानिस्तान र म्यानमारको अवस्था पनि कसैबाट लुकेको छैन । अफगानिस्तानमा तालिबान शासनमा आएसँगै अवस्था थप बिग्रिएको छ । जबकि म्यानमारमा शक्तिमा रहेको सेनाप्रति जनताको विश्वास घटेको छ ।
नेपाल
नेपालको अर्थतन्त्र पनि क्रमशः धरासायी हुने बाटोमा छ । सन् २०२२ को मध्यमा नेपालको विदेशी मुद्रा सञ्चिति २१.१ प्रतिशतले घटेर ९.२८ अर्ब डलरमा पुग्दा खतराको घण्टी बजेको थियो । केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तसम्म नौ अर्ब ४५ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिती रहेको छ । बैंकका अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा रु ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई रु १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई रु एक खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ । गत जेठ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत बराबर छ । आव २०७८–७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कोरोना महामारीपछि छिमेकी मुलुकसँग नेपालको सम्बन्धमा ठूलो असर परेको छ । खासगरी चीनसँगको व्यापारिक सम्बन्धमा परिवर्तन आएको छ । चिनियाँ सामानको आयात तीब्र भएपनि नेपालबाट चीनतर्फको निर्यात ठप्प छ । यस्तै भारतलगायत अन्य देशबाट हुने आयात चिन्ताजनक रुपमा बढेको छ र व्यापार घाटाले उचाई छोएको छ । मुद्रास्फीति दर ८.५६ प्रतिशत पुगेको छ । पेट्रोल र डिजेलको मूल्य नेपाली रुपैयाँ करिब दुई सय रुपैयाँ रहेको छ ।
पाकिस्तान
पाकिस्तानको अर्थतन्त्र चिन्ताजनक रुपमा ओरालो लागेको छ । देशको विदेशी मुद्रा सञ्चिति ९८ करोड डलरमात्र बाँकी छ । यो निरन्तर घट्दै गएको छ । पाकिस्तानको वित्तीय मामिला अनुसन्धान एजेन्सी एफबीआरका पूर्व अध्यक्ष सैयद शब्बर जैदीले हालै भनेका थिए कि देशको अवस्था श्रीलंका भन्दा फरक छैन । मार्च २०२२ सम्म पाकिस्तानमा ४४ लाख करोड पाकिस्तानी रुपैयाँ ऋण छ । पूर्व प्रधानमन्त्री इमरानले आफ्नो कार्यकालमा मात्र १८ लाख करोड रुपैयाँ ऋण लिएका थिए । चीनले पाकिस्तानलाई जुन २०२२ सम्म ३० खर्ब पाकिस्तानी रुपैयाँ ऋण दिएको छ । मुद्रास्फीति १४ प्रतिशत पुगेको छ । पेट्रोल–डिजेलको मूल्य २४४–२६४ पाकिस्तानी रुपैयाँ पुगेको छ भने खाद्यान्नको मूल्यमा ७४ प्रतिशत वृद्धि भइसकेको छ ।
अफगानिस्तान
अफगानिस्तान वर्षौंदेखि युद्धको चपेटामा परेको छ । अमेरिकाले देशको विदेशी मुद्रा सञ्चितिको ७ अर्ब डलर फ्रिज गरेको छ । गत वर्ष अमेरिकी सेना स्वदेश फर्किएपछि अवस्था बिग्रिएको छ । राष्ट्रसंघको प्रतिवेदनअनुसार देशका २ करोड ५० लाख मानिस भोकमरीको खतरामा छन् ।
म्यानमार
म्यानमारमा गत वर्ष फेब्रुरुअरीमा सेनाले चुनावी धाँधली भएको भन्दै सत्ता कब्जा गरेको थियो । कूले सैन्य तानाशाही विरुद्धको आन्दोलनलाई उत्तेजित ग¥यो । यसैबीच, कोरोना महामारीका कारण खाद्यान्न असुरक्षा, स्रोतको दुरुपयोग र नगदको अभाव जस्ता समस्याले अवस्था थप जटिल बनाएको छ । पेट्रोल र डिजेलको मूल्य करिब ३० प्रतिशतले बढेको छ । खाद्यान्नको मूल्य एक वर्षमा ५० प्रतिशतले बढेको छ । (अन्तराष्ट्रिय समाचार माध्यमका सामग्रीमा आधारित रहेर तयार पारिएको )