काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुला रुपमा सील नगरी जारमा पानी बेच्न निषेध गरेको छ । अप्रशोधित पानी राखेर बिक्री गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने क्रम बढेको भन्दै विभागले जारको पानी विक्री गर्दा विर्को सीलप्याक गर्नुपर्ने निर्णय गरेको हो।
विभागले बिर्को सील गर्ने व्यवस्थाका लागि पानी उद्योगहरुलाई दुई महिनाको समय दिइएको छ । विभागले खानेपानीको खानेपानी उद्योगहरुले अब जारमा पानी बेच्दा बिर्कोलाई अनिवार्य रुपमा सील गर्नुपर्ने छ ।
आइतवार आठौं राष्ट्रिय खाद्य स्वच्छता दिवसका बारेमा जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा महानिर्देशक संजिवकुमार कर्णले उद्योगहरुले जारको विर्को सील गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।
उनले उद्योगहरुले जारमा अप्रशोधित पानी भरेर बेच्ने क्रम बढेकाले अनुज्ञापत्र नम्बरसहित प्लाष्टिकले बिर्को सील गर्नुपर्ने निर्णय गरेको बताए ।