Logo

भारतमा वार्षिक डेढ खर्ब बढीको सिमेन्ट निर्यातको सम्भावना, २० वटा उद्योगले थाले निर्यातको पहल

भारतमा वार्षिक डेढ खर्ब बढीको सिमेन्ट निर्यातको सम्भावना, २० वटा उद्योगले थाले निर्यातको पहल



काठमाडौं । नेपालले पहिलो पटक भारतमा सिमेन्ट निर्यात गरेपछि नेपाली सिमेन्ट उद्योगहरु उत्साहित भएका छन् । शुक्रबार नेपाली सिमेन्ट कम्पनी पाल्पा सिमेन्टले तीन हजार बोराको पहिलो खेप उत्तर प्रदेशसँग सीमा जोडिएको चेकपोस्ट हुँदै भारत निर्यात गरेको थियो । नवलपरासीमा रहेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबार इतिहासमै पहिलो पटक सुनौली नाकाबाट सिमेन्टको पहिलो खेप भारत पठाएको छ । सरकारले बजेटमा सिमेन्ट निर्यातमा आठ प्रतिशत अनुदान दिएपछि नेपालका उद्योगी भारतमा सिमेन्ट निर्यात गर्न उत्साहित भएका छन् ।

पछिल्लो घटनाक्रमले नेपालमा सञ्चालित अन्य सिमेन्ट कम्पनीहरूलाई आफ्ना उत्पादनहरू भारत निर्यात गर्न उत्साहित रहेको बताइएको छ । नेपाल सिमेन्ट उत्पादक संघका अनुसार नेपाली सिमेन्ट उद्योगहरुसँग हाल १ खर्ब ५० अर्ब बराबरको सिमेन्ट निर्यात गर्ने क्षमता छ । नेपालको सिमेन्ट उद्योग अपार सम्भावना रहे पनि बजार अभावका कारण समस्यामा परेको छ । तानसेन ब्राण्डको सिमेन्ट उत्पादन गर्ने पाल्पाले भारतमा गुणस्तर परीक्षणलगायतका सरकारी प्रक्रिया पूरा गरी भारतमा सिमेन्ट निर्यात गर्न थालेको हो ।

नेपालमा हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगमध्ये केही कम्पनीहरु तत्काल सिमेन्ट निर्यात गर्न सक्ने क्षमतामा रहेका छन् । यी उद्योगले अन्तराष्ट्रिय बजारमा निर्यात सहजता भए तत्कालै आफ्ना उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न तयार रहेको बताउँदै आएका छन् । यसै सन्दर्भमा तानसेन सिमेन्टको भारत निर्यातसँगै ठूलो बजारका रुपमा रहेको भारतमा नेपालबाट ठूलो परिणाममा सिमेन्ट निर्यात गर्न सकिने सम्भावना देखिएको एक उद्योगीले बताए ।

खासगरी भारतमा नेपाली सिमेन्ट निर्यात गर्न हालसम्म ढुवानी खर्चसँगै अन्य उत्पादन खर्चले समेत बाधा पुर्याइहेको थियो । पहाडमा चुनढुंगा खानी र तराईमा सिमेन्ट उद्योग हुँदा पहाडबाट चुनढुंगा र अफ्रिकाबाट कोइला ल्याई सिमेन्ट उत्पादन हुँदा त्यसको उत्पादनलागत ज्यादै धेरै हुने भएका कारण नेपाली सिमेन्टले भारतीय सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था थिएन ।

सरकारले सिमेन्ट निर्यातलाई प्रोत्साहन हुनेगरी ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि उद्योगीहरुले भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा सिमेन्ट विक्री गर्न सहज भएको हो । यसका लागि सरकारले राम्रो साथ दिएको नेपाल सिमेन्ट उद्योग संघका महासचिव तथा अग्नि सिमेन्टका प्रबन्ध निर्देशक डा ताराप्रसाद पोख्रेलले बताए । उनका अनुसार सरकारले सहजीकरण गरिदिएसँगै नेपालमा सिमेन्ट उत्पादन गरिरहेका धेरैजसो उद्योगहरु सिमेन्ट निर्यात गर्ने योजनामा रहेको उनले बताए । ‘नेपालमा कम्तिमा २० उद्योगहरुले क्लिंकर उत्पादन गरिरहेका छन्, नेपालको माग पनि धानिरहेका छन्,’ उनले भने, ‘यी सबै उद्योगहरु सिमेन्ट निर्यात गर्न तयार छन् ।’

उनका अनुसार भारत सरकारले गुणस्तर चिह्न आइएसओ प्रदान गरेपछि धेरैजसो उद्योगले भारतका बजारमा सिमेन्ट निर्यात गर्न सक्नेछन् । हाल २० बढी उद्योगहरुले यसका लागि भारतमा आफ्नो सिमेन्टको स्याम्पल पठाइसकेको पोख्रेलले बताए । उनका अनुसार अग्नि सिमेन्टले पनि निर्यातका लागि भारतमा स्याम्पल पठाईसकेको छ । आगामी २ देखि ३ महिनाभित्र धेरैजसो उद्योगहरुले भारतमा सिमेन्ट निर्यात सुरु गरिसक्ने उनको भनाई छ । हाल नेपाली सबै उद्योगहरुले १ करोड ५० लाख मेट्रिक टन सिमेन्ट निर्यात गर्न सक्ने क्षमता छ ।

धेरैजसो नेपाली सिमेन्ट उद्योगहरु तराईका जिल्लामा रहेकाले नेपाल र भारतको सिमा क्षेत्र आसपासका बजारमा नेपाली सिमेन्टको माग रहेको उनले बताए । तर, सीमाभन्दा टाढाका क्षेत्रमा भने सिमेन्ट पुर्याउन ढुवानी लागत बढी लाग्ने उनको भनाई छ । यता शुक्रबार मात्रै भारतमा ३ ट्रक निर्यात गरेर निकासी सुरु गरेको पाल्पा सिमेन्टले भने धमाधम बजार पाईरहेको छ । ८ महिना अघि भारतमा आइएसओ प्रमाणपत्रका लागि स्याम्पल पठाएको उद्योगले १५ दिन अघि मात्रै आइएसओ प्रमाण पत्र पाएको थियो ।

सरकारले ८ प्रतिशत नगद अनुदान दिने भएपछि निर्यात सुरु गरिएकाले भारतीय मार्केटसँग प्रतिस्पर्धी दरमा सिमेन्ट बेच्न सजिलो भएको उद्योगका संचालक राजेश अग्रवाल बताउँछन् । उनका अनुसार भारतीय बजारमा सिमेन्टको माग उच्च भएकाले नेपाली सिमेन्ट उद्योगहरुले बजार विस्तारका लागि लागिपर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL