काठमाडौं । बजेट निर्माणको क्रममा बाहिरी व्यक्तिलाई प्रवेश गराई गैरकानूनी काम गरेको आरोपमा अर्थ सचिव मधु मरासिनीलाई समेत तत्काल छानविनको दायरामा ल्याउनु पर्ने पूर्व प्रशाशकहरुले बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायित्व ऐनअन्तरगत बजेट निर्माणको दायित्व अर्थ मन्त्री र प्रमुख लेखा अधिकृत (अर्थ सचिव) को हुन्छ ।
बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोपमा अर्थ मन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष समिति बनेको छ । बजेट निर्माणको सम्पूर्ण जिम्मा अर्थ मन्त्री र अर्थ सचिवमा हुने र यसमा आर्थिक अपचलन तथा नैतिक गोपनीयतासम्बन्धी कानूनसमेत आकर्षण हुनेहुँदा मन्त्री जत्तिकै अर्थसचिव पनि छानविनको दायरामा आउनुपर्ने सरोकारवाला बताउँछन् ।
बजेटमा भएको अनिमियताको विषयमा संसदीय विशेष समिति बनेको र उक्त समितिले बजेट निर्माणमा संलग्न सबैमाथि छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने पूर्व मुख्य सचिव डा। विमल कोइराला बताउँछन् । ‘छानविन समितिले बजेट निर्माणको क्रममा कोको संलग्न छन् सबैलाई छानविनको दायरामा ल्याउनुपर्छ मन्त्रीलाई मात्रै छुट्याएर हेर्न मिल्दैन’ उनले भने । सचिवले आफ्नो दोष नभए बजेट निर्माणकै क्रममा असन्तुष्टि देखाएर हिंड्नुपर्ने उनको भनाइ छ ।
‘त्यतिबेला एउटै टिममा बसेर बजेट निर्माण गरेर अहिले विवाद बढेपछि सचिवमाथि छानविन नहुने भन्ने हुँदैन’ उनले भने । अहिलेको विवादमा सबै समूह नै जवाफदेही हुनुपर्ने तर, कसुरको भारको निक्र्योल चाहिँ छानविन समितिको प्रतिवेदन पछि मात्रै थाहा हुने उनको भनाई थियो ।
यसैगरी पूर्व सचिव रामेश्वर खनाल पनि अहिले बजेट निर्माणको सम्बन्धमा उठेका विषयमा अन्तरराष्ट्रिय अभ्यास र नैतिकताको विषय प्रमुख हुने बताउँछन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअन्तरगत बजेट निर्माणको जिम्मा अर्थमन्त्री र अर्थ सचिवमा हुने उनको भनाई छ ।
खनालले तत्कालीन समयमा बजेट निर्माणको क्रममा बजेट बाहिरैबाट बनेको र असम्बन्धितहरुको संलग्नता रहेको भन्दै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग असन्तिुष्ट जनाउँदै पदबाटै राजीनामा दिएर बाहिरिएका थिए । गोपनीयता राख्नुपर्ने बजेटजस्तो दस्तावेज बनाउँदा अर्थसचिव मरासिनीले नै बाहिरी व्यक्तिलाई संलग्न गराउन सहमति दिनु गम्भीर अपराध भएको सम्बद्ध सरोकारवालाहरु नै बताउँछन् । ‘तत्कालीन समयमा मन्त्रीले बाहिरी व्यक्तिको सल्लाहमा बजेट तयार गर्न लागको भन्दै तत्कालीन अर्थसचिव खनालले नैतिकताको आधारमा राजीनामा दिएका थिए,’ नाम उल्लेख नगर्ने शर्तमा एक अर्थविद्ले भने, ‘तर अहिले त अर्थ सचिव मरासिनीले बाहिरी व्यक्तिलाई मन्त्रालयमै प्रवेश गराएर बजेट बनाउँदा पनि कुनै तत्काल प्रतिक्रिया जनाएनन् यो गम्भीर अपराध हो ।’
बजेट निर्माणका क्रममा अर्थ सचिव मरासिनीले विशेषगरी आफुलाई अर्थ सचिव बनाउन जोडबल लगाउने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालको स्वार्थ पूर्ति हुनेगरी करका दरहरु परिवर्तन गर्दै बजेट निर्माण गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । तर, अर्थमन्त्री जनार्दन शर्माले सीमित व्यक्तिको स्वार्थमा बजेटमा करका दरहरु परिवर्तन गरी बजेट अपचलन गरेको आरोप खेपिरहेका बेला उनका मतियार बनेका अर्थसचिव मरासिनी भने कसैलाई पनि निमित्त सचिवको जिम्मेवारी नदिई कसुरबाट उम्कन गैरकानूनी रुपमा विदामा बसेको अर्का एक पूर्व प्रशासकको भनाई छ । ‘यदि अर्थसचिव मरासिनी आफू निर्दोष बन्न चाहन्थे भने अर्थमन्त्री वा आफूलाई नियुक्त दिने व्यक्तिको इसारामा बजेटमार्फत राज्यलाई हानीनोक्सानी पुग्नेगरी करका दरहरु चलाउन सहयोग गर्न हुँदैन्थ्यो, त्यतिबेलै अब्जेक्सन जनाउनु पर्दथ्यो,’ ती पूर्व प्रशासकले भने, ‘बजेट निर्माणका क्रममा आफुलाई नियुक्त दिने व्यक्ति रिझाउन उनीहरुले भनेअनुसार करका दरहरु चलाउने तर विवाद आएपछि बजेट बनेको ३५ दिनपछि विदामा बसेर उक्त अपराधबाट उम्कन पाईदैन ।’
बजेटमार्फत प्रधानमन्त्री देउवाका छोरा जयविरसिंह देउवाले आयात गर्ने सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट दिइएको छ । त्यसैगरी देउवापक्षीय संसद तथा उद्यमी विनोद चौधरीलाई फाइदा पुग्नेगरी विद्युतीय गाडीमा भन्सारदर परिवर्तन गरेको आरोप लागेको छ । यस्तै बजेटमार्फत सीमित ठूला व्यवसायीक घरनालाई फाइदा पुग्नेगरी करका दर परिवर्तन तथा छुट दिइएको अरोप अर्थमन्त्री शर्मामाथि लागेको छ । बजेट निर्माणका क्रममा आफूलाई नियुक्ति दिने देउवा र दाहालको निर्देशन पालना गर्दै करका दरहरु परिवर्तन गर्ने तर, विवादमा आएपछि मात्रै विदा बसेर पुनः सोही भुमिकामा फर्केर उन्मुक्ति नपाइने सरोकारवालाहरुको बुझाइ छ । एकदिन विदामा बसेकै कारण अर्थसचिव मरासिनीमाथि पनि छानविन नगर्ने हो बजेट निर्माणका क्रममा कर्मचारीबाट हुने नीतिगत विचलन नरोकिने एक पूर्व सचिवले बताए ।
अर्थसचिव मरासिनीले अर्थमन्त्री शर्मा रहेसम्म मन्त्रालयमा नआउने भन्दै गत बुधबार निमित्त समेत नदिई विदामा बसेका थिए । अर्थसचिव विदामा बसेको अवस्थामा राजस्व सचिवले निमित्त चलाउने भएपनि राजस्व सचिव कृष्णहरि पुष्करे विदेश रहेको अवस्थामा मरासिनीले सहसचिवलाई निमित्त समेत नदिई विदामा बसेका थिए । अर्थसचिव विदा बसेकै दिन अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा आफ्नो राजिनामा घोषणा गरेका थिए ।