काठमाडौं । पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारमको व्यवस्था गरेको छ । अनलाइन फारमको व्यवस्था नहुँदा सवारी लाइसेन्स लिन आवेदन दिनमात्रै पनि रातभर लाइन लाग्नुपर्ने अवस्था थियो । अहिले अनलाइन फारमको व्यवस्था भएसँगै कार्यालयहरु रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएपनि अझै पनि कार्यालयमा भीड भने उत्तिकै बढेको छ ।
सेवाग्राहीले अनलाइनमार्फत सेवा लिन विचौलियाको भर पर्दा उक्त समस्या निम्तिएको हो । गत सोमवार विभागको आईटी शाखामा बाक्लो भीड थियो । त्यही भीडमा सेवाग्राहीका प्रश्नको जवाफ दिन र समस्या समाधानका उपाय सुझाउन भ्याई नभ्याई थियो विभागका महानिर्देशक नमराज घिमिरलाई ।
अहिलेको समयमा ड्राईभिङ लाईसेन्स लिन चाहनेमध्ये ९० प्रतिशतको हातमा स्मार्टफोन रहेको र सेवाग्राहीले आफुले लिन खोजेको सेवावारे अनलाइनबाटै सुविधा लिन सक्छन भन्ने बुझाईका साथ विभागले उक्त सफ्टवेयर निर्माण गरि प्रयोगमा ल्याएको उनले बताए । अनलाइन सर्भिस सेवाग्राही आफैले लिन सक्ने भएता पनि मागेको विवरण यथार्र्थ रुपमा पेश नगर्दा सेवाग्राहीले दुख पाएको विभागको भनाइ छ । यस्तो समस्या आउनुमा सिस्टमको नभई प्रयोगकर्ताको कारणले आएको विभागको बुझाई छ । ‘यसमा कि सेवाग्राही आफुले भर्दा गल्ती गरेको हुन सक्छ कि जानाजान विचौलियाले विभागको सफ्टवेयर फेल गराउन गलत विवरण भरिदिएको हुनसक्छन’, विभागका एक अधिकारीले बताए ।
नेपालमा ब्रोडव्याण्ड ईन्टरनेटको पहुँच एक सय २८ प्रतिशत जनतामा पुगेको तथ्यांकले देखाए पनि यसको प्रयोग अधिकाशं रुपमा सामाजिक संजाल प्रयोग गर्नमै सीमित रहेको देखिन्छ । विभागका महानिर्देशक घिमिरे विभागले अनलाइन सेवा दिने भनि ल्याएको सफ्टवेयर प्रयोगमा देखिएका गल्ती हर्दा अवस्था यस्तो रहेको बताउाछन् । विभागले अनलाइन सेवा दिने गरि बनाएको सफ्टवेयर आफ्नो वेवसाईटमा राखेको र राम्ररी पढेर भने बमोजिमको विबरण गल्ती नगरिकन भर्दा सेवा सहज हुने, सेवाग्राहीले दुख नपाउने विभागको दाबी छ ।
महानिर्देशक घिमिरेले त्यहाँ समस्या लिएर आएका व्यक्ति वास्तवमा कुनै पनि व्यक्ति कार्यालयमा आउनु पर्ने अवस्थाको नभएको बताए । किनकि अनलाइन फारममै प्रष्ट रुपमा सोधिएको छ कि ‘तपाईको लाईसेन्स छ ? तपाईको विवरण भर्नुहोस, तपाईको लाईसेन्स स्क्यान गरेर अपलोड गर्नुहोस, यस्तै कुन सेवा लिने हो सोहीअनुसार विवरण भर्नुपर्नेमा एक किसिमको सेवा लिन खोजेको र भर्दा अर्कै भरेकोले समस्या लिएर विभागको आइटी शाखामा सेवाग्राही आइरहेको उनले बताए । नेपालमा प्राय सेवाग्राहीमा कुन विषयमा सेवा लिइरहेको छु भन्ने कुराको ज्ञानको कमी रहेको पाईन्छ । गत सोमवार यातायात व्यवस्था विभागमा देखिएको भीडले त्यहि कुरा प्रमाणित गरिरहेको थियो । सेवाग्राही आफैले भर्न सक्ने विवरण पनि विचौलियासँग भर्नेहरु झन यस्तो समस्या लिएर विभागको आइटी शाखामा आएको विभागले जानकारी दिएको छ ।
सेवाग्राही आफु कुन विषयमा सेवा लिन खोजेको भन्नेमा अनविज्ञ रहनुका साथै भर्नुपर्ने विवरण सहीरुपमा नभर्दा समस्या बढदै गएको छ । यस्तो समस्या निम्तिनुमा विविध पक्ष रहने भए पनि मुख्यतया सेवाग्राही सचेत नहुनु र आफुले लिने सेवा आफै नलिई विचौलियाको भर परेर लिन खोज्दा गल्ती भई भीड बढेको महानिर्देशक घिमिरेको बुझाई रहेको छ ।
यसअघि हुने भीड न्यूनीकरण गर्ने उदेश्यका साथ विभागले आफना सेवा दिन सफ्टवेयर निर्माण गरेको थियो । उक्त सफ्टवेयरको कार्यान्ययनपश्चात कार्यालयमा सेवाग्राहीको अनावश्यक भीड घट्ने विभागको अनुमान थियो । अनलाइन सेवा प्रवाह गर्ने गरि विभागले निर्माण गरेको सफ्टवेयरमार्फत सेवाग्राही आफैले नै अनलाइनमा सम्पूर्ण विवरण भर्न सक्ने विभागले जानकारी दिएको छ ।