Logo

काठमाडौंमा दैनिक १५ सय टन फोहर उठाइदै, अझै ३० हजार मेट्रिक टन फोहर उठन बाँकी

काठमाडौंमा दैनिक १५ सय टन फोहर उठाइदै, अझै ३० हजार मेट्रिक टन फोहर उठन बाँकी



काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर उठाउन सुरु गरेसंगै फोहरका कारण उत्पन्न राजधानीको दुर्गन्धमा कमी आएको छ । फोहर व्यवस्थापन गरिदै आएको सिडोल र बञ्चरेडाँडाका स्थानीयको अवरोधका कारण पछिल्लो समय राजधानीको फोहर उठन नसक्दा लामो समय फोहर थुप्रिएर शहरमा दुर्गन्ध बढेको थियो ।

राजधानी भित्र महिनौ दिनदेखि नउठेको फोहर पछिल्लो समय दैनिक रुपमा संकलन र विसर्जनको कार्य भइरहेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख सरिता राईले बताइन । उनले भनिन, ‘पछिल्लो समय फोहर संकलन र व्यवस्थापन कार्य दैनिक रुपमा बृद्धि भइरहेको छ। पहिलो दिन १५३ ट्रक, दोस्रो दिन २५३ ट्रक, तेस्रो दिन ३१५ ट्रक, चौथो दिन ३५७ ट्रक फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटतर्फ पठाईएको छ ।’

महाशाखा प्रमुख राईले महिनौ दिनदेखि नउठेको फोहर एक दुई दिनमै उठाउन सम्भव नभएको बताइन । उनले अझै ३० हजार मेट्रिक टन फोहर उठन बाँकी रहेको, हाल दैनिक १५ सय टनका दरले फोहर उठिरहेको र सम्पूर्ण फोहर उठन अझै केही समय लाग्ने बताइन ।

बञ्चरेडाँडाका स्थानीयबासीले आफ्ना माग सम्बोधन नहुदाँ उक्त ठाँउमा फोहर फाल्न अवरोध गरेका थिए । यसअघिका सम्झौता समयमै कार्यान्वयन नहुँदा स्थनीयले गरेको अवरोधका कारण सफा शहर बनाउने मेयरको प्रतिबद्धता अनुरुप काम हुन सकेको थिएन । स्थानीयले अवरोध गरेकै ठाँउमा पुगेर स्थानीय र जनप्रतीनीधी संगको छलफल पश्चात महानगर फोहर उठाउन सफल भएको छ । प्रभावित क्षेत्रका स्थानीय जनप्रतीनिधि संग भएको सम्झौताअनुरुप निर्धारित समयमै माग सम्बोधन हुने कार्य अगाडि बढाइने काठमाडौं महानगरपालीका वातावरण व्यवस्थापन महाशाखा प्रमुख राईले बताइन ।

गत शुक्रबार स्थानीय प्रतिनिधि र महानगर पदाधिकारीबीच १८ बुंदे सम्झौतापश्चात राजधानीको फोहर उठन थालेको हो । यसका साथै काठमाडौं माहानगरपालिका भित्र रहेका समस्याको दीर्घकालीन समाधान खोजी गरिने भएको छ । महानगर कार्यपालिकाको आइतबार बसेको दोस्रो बैंठकमा उप मेयर सुनिता डंगोलले फोहरको अल्पकालिन समाधान गरिए पनि यसको दीर्घकालिन समाधानको उपाय खोजी गर्न महानगर लाग्नुपर्ने आवश्कता रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
MBL