काठमाडौं । नेप्से परिसुचकले मंगलबार २ हजारको टेको तोड्दै ओरालो लागेको छ । नेप्से परिसुचक २२ सय अंकबाट ओरालो लागेसँगै लगानीकर्ताहरुले २ हजार छोएर बाउन्स व्याक हुने अपेक्षा तथा विश्लेषण गरेपनि मंगलबार २ हजार अंकभन्दा तल ओर्लिएको छ ।
लामो समयदेखि गिरावट आएको बजारमा मंगलबार नेप्से परिसुचक ३६ अंकले घट्दै १ हजार ९९६ अंकमा झरेर अडिएको छ । पछिल्लो समय बैंकहरुले लगानीकर्ताहरुलाई दैनिक रुपमा मार्जिन कलको लागि फोन गरेर प्रेसर दिन थालेपछि बजारमा सेलिङ प्रेसर बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
‘अहिले लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो ५० देखि ६० प्रतिशतसम्म घटिसकेको छ,’ एक लगानीकर्ताले भने, ‘सामान्यता बैंकले धितोमा राखेको सेयरको २० प्रतिशतभन्दा बढी मुल्य घटेपछि मार्जिन कल गर्छ तर अहिले ६० प्रतिशतसम्म घटेकाले दैनिकजसो फोन गरेर दबाब दिन थालेको छ ।’
पछिल्लो समयको बढ्दो तरलता संकट, उच्च ब्याजदर तथा बैंकहरुले कर्जानै दिन बन्द गरेपछि लगानीकर्ताहरु चेपुवामा परेका सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । ‘एकतर्फ बैंकलाई मार्जिन राख्न पैसा छैन भने सेयर किन्न चाहने व्यक्तिले पनि नगद अभावकै कारण बजारबाट सेयर उठाउन पनि सकिएको छैन,’ ती लगानीकर्ताले भने, ‘अहिले लगानीकर्ताहरु दोहोरो चेपुवामा परेका कारण बजारमा सेलिङ प्रेसर आएको हो ।’
सोहीअनुरुप मंगलबार पनि बजारमा सबै उपसमुहका परिसुचकहरुमा उच्च गिरावट आएको छ । जसमध्ये हिमालयन पावर पार्टनको सेयर मुल्य घटेर सर्किट हानेको छ भने बलेफी हाईड्रोमा पनि उच्च गिरावट आएको छ ।
लगानी अभावकै कारण कारोबार रकममा पनि सुधार आउन सकेको छैन । तर अघिल्ला दिनमा १ अर्ब रुपैयाँभन्दा तल रहेको सेयर कारोबार मंगलबार भने १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।