Logo

कांग्रेसको मतदान शुरु, त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेसको मतदान शुरु, त्रिपक्षीय प्रतिस्पर्धा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आइतवार बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । कुल ३१६१ मतदाता रहेको कांग्रेसको चुनावमा सभापति जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ ।

संस्थापन पक्षको २१ सय प्रतिनिधि जितेर आएकोले बलियो रहेको आँकलन गरिएको थियो । तर अर्जुननरसिंह केसी, केवी गुरुङ, फरमुल्लाह मन्सुर लगायतका केही नेताहरु देउवा प्यानलतिर गएको र कृष्णप्रसाद सिटौलाको अर्को प्यानल संस्थापनबाटै उठेकोले देउवा केही सुदृढ भएको दाबी गरिरहेका छन । संस्थापन पक्षको निश्कर्ष अनुसार केही टाउका मात्र गएको र महाधिवेशन प्रतिनिधिहरु र ती नेताका विरोधीहरु फेरि संस्थापनतिरै फर्किएकोले पौडेल प्यानलको स्थिति जित्न काफी रहेको सो पक्षका एक नेताले दाबी गरेका छन । उनका अनुसार अहिले पनि संस्थापनतिर १८ सय भन्दा बढी मत रहेको छ । त्यसैले दोस्रो चरण पनि जानुपर्ने आवश्यकता पनि नहुन सक्छ । कथंकदाचित दोस्रो चरण गैहालेपनि त्यसले पौडेल पक्षलाई मद्दत पुग्नेछ ।

सिटौला पक्षबाहेक संस्थापनले मूल कांग्रेस पार्टीको रुपमा छवि कायम गरेको, कोइराला परिवारलाई एकढिक्का बनाई संस्थापनमा राखेको र मुख्यधार जस्ताको त्यस्तै कायम राखेकोले पनि धेरै महाधिवेशन प्रतिनिधिहरु संस्थापनतिर बसिरहेका छन ।

कांग्रेसभित्र स्वच्छ छवि, क्षमता भएका र कोइराला परिवारको विरासतको निरन्तरता रहेकोले पनि मूल पार्टीप्रतिको क्रेज कार्यकर्ताहरुमा रहेको देखियो । अर्कोतिर देउवा प्यानलमा खुमवहादुर खड्का सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भै जेल भोगेका, त्यस्तै अपराधमा सजाय पाएका गोविन्दराज जोशी, चिरिञ्जीवी वाग्ले, फाइल गायव गराउन सफल केसी लगायत भ्रष्टाचारीहरुको झुण्ड र ठग व्यापारी तथा ठेकेदारहरुको हावी भएकोले कार्यकर्ताहरु निराश बन्दै संस्थापनतिरै फर्किएको ती नेताको दाबी रहेको थियो । केसीलाई त अझ बीपीलाई फाँसी दिनुपर्छ भन्ने र प्रजातन्त्र दबाउन प्रतिकार समितिमा बसेको भन्दै अनलाइन तथा सामाजिक सञ्जालमा प्रचार गरिएको छ ।

देउवाले पनि ५८ सालमा दरवारमा बुझाएकोले धेरै त्यसैमा झस्किएका छन । समग्रमा देउवाको प्रतिष्ठापूर्ण महोल चाहि बनेन । यसले गर्दा संस्थापनका केही नेता आफूतिर तान्न सफल भएपनि देउवाको जितका लागि त्यो पर्याप्त देखिएन ।

शनिबार राती देउवा पक्षबाट केही मतदाताहरु खरिद गरिएको हल्ला चलेको छ । तर यसको एकिन गणना भन्न सकिने अवस्था छैन । ८ देखि १० प्रतिशत मतदाता अहिले पनि तटस्थ रहेको जनाइएको छ र पौडेल र देउवा दुवै त्यही तटस्थ मतलाई आफूतिर तान्न खोजिरहेका छन । शनिवार रातीको खेल सफल भएको हो भने चुनाव दोस्रो चरणमा जान सक्नेछ । सिटौला पक्षमा खासै मतदाता नभएकोले संस्थापनको खासै मत नकाटिने र काटिने मतहरु पनि दुबै पक्ष अन्तर्गतको रहेको जनाइएको छ ।

सिटौलाले धेरै मत काट्ने स्थिति बनेको भए सभापतिको चुनाव दोस्रो चरण जाने निश्चित जस्तै थियो ।

सभापतिको मत गणना पहिला हुने र आएको नतिजा अनुसार अन्य मतपेटिकाहरु गणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ । सभापतिको फैसला नहुन्जेल सम्पूर्ण मतपेटिकाहरु पार्टी कार्यालय सानेपामा राखिने समितिले जनाएको छ । सभापतिको पहिलो चरणको चुनावले नतिजा दिएन भने दोस्रो चरणको चुनाव सोमबार हुने जनाइएको छ ।

महामन्त्रीको चुनाव भने डा सशांक कोइरालाले जित्ने निश्चित रहेको छ । केसी अलोकप्रिय र पञ्चायती पृष्ठभूमिका भएको र सशांक लोकप्रियका साथै कसैलाई नविझाउने व्यक्तित्व भएकोले सहजै जित्ने धेरैको विश्लेषण रहेको छ । बीपीलाई फाँसी दिनुपर्छ भन्ने केसी तिनै बीपीका छोरासँग चुनाव भिडिरहेकोले पनि सशांकप्रति दुबै पक्षका कार्यकर्ताहरुको सहानुभूति बटुलिरहेका छन । त्यस्तै सरकारमा गएपछि अलोकप्रिय बनेकी चित्रलेखा भन्दा माओवादीले श्रीमानको हत्या गरेपछि राजनीतिमा छिरेकी सितादेवी यादवप्रति देशव्यापी सहानुभूति रहेकोले उनी पनि सशक्त रहेको जनाइएको छ । यसरी हेर्दा संस्थापन नै बलियो देखिएको छ ।

महामन्त्रीका अर्का उम्मेद्वार गगन थापा ससुरालाई जिताउन मोहोरा बनेको आरोप खेपिरहेका छन र उनले केसी र कोइराला दुबैको केही मत काट्ने तर त्यसले कुनै अर्थ नराख्ने विश्लेषण महाधिवेशन प्रतिनिधिहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL