Logo

बेइजिङमा कोभिड–१९ नियन्त्रणसम्बन्धी प्रतिबन्धलाई खुकुलो पारियो, विद्यार्थी भौतिक रुपमै कक्षाकोठामा उपस्थित हुन पाउने

बेइजिङमा कोभिड–१९ नियन्त्रणसम्बन्धी प्रतिबन्धलाई खुकुलो पारियो, विद्यार्थी भौतिक रुपमै कक्षाकोठामा उपस्थित हुन पाउने



काठमाडौं । चीनको राजधानी शहर बेइजिङमा महामारीको स्थितिमा सुधार देखिएसँगै बेइजिङले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धलाई खुकुलो पार्ने भएको छ ।

कोभिडजन्य परिवर्तित नियमसँगै घरेलु तथा होटल तथा रेष्टुरेण्टको सेवा, कुरियर सेवा र भौतिक उपस्थितिमा हुने शैक्षिक कक्षालाई सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

‘कोभिड–१९ सङ्क्रमित दर निकै कम भइसकेकोले महामारी नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध (नियम)लाई खुकुलो पार्न स्थानीय सरकारले तयारी थालेको छ,’ महानगरका अधिकारीहरूले आइतबार बताए ।

यो नयाँ नियम फेङताई र चाङपिङ जिल्लाका केही क्षेत्रहरूबाहेक सोमबारदेखि चीनको राजधानीका सबै जिल्लाहरूमा लागू हुनेछ । सोमबारदेखि रेस्टुरेन्टभित्रका सेवा उपलब्ध हुनेछन् र एक देखि अर्को समुदायमा कुरियर सेवाका लागि अनुमति दिइनेछ ।

कुल आगन्तुक को प्रवाहलाई अधिकतम क्षमताको ७५ प्रतिशतभन्दा बढी नहुने गरी पुस्तकालय, संग्रहालय, सिनेमा र जिमजस्ता सार्वजनिक स्थानलाई पुनः सञ्चालन गर्न अनुमति दिइनेछ ।

सार्वजनिक स्थलमा प्रवेश गर्ने, सार्वजनिक यातायातमा यात्रा गर्ने वा जमघटहरूमा उपस्थित हुनेहरूले ७२ घण्टाभित्रै न्युक्लिक एसिड परीक्षणबाट सङ्क्रमित नभएको पुष्टि हुने रिपोर्ट साथमा बोक्नुपर्नेछ ।

बाह्रौं कक्षाका विद्यार्थीहरूबाहेक प्राथमिक, मध्यम र उच्च माध्यमिक विद्यालयका अन्य सबै कक्षाका विद्यार्थीहरूले भौतिक रूपमा जून १३ देखि कक्षामा उपस्थित भई कक्षा लिनसक्नेछन् । बालवालिकाहरूले पनि जून २० देखि कक्षाहरूमा उपस्थित भई अध्ययनका लागि अनुमति दिइनेछ ।

बेइजिङमा पछिल्लो २४ घण्टामा स्थानीयस्तरमा सङ्क्रमित हुनेको संख्या ५ जना रहेको स्थानीय प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL