Logo

नेपालको विजुली भारत निर्यात सुरु : मर्स्याङदी, कालीगण्डकी र लिखुको विजुली पनि निर्यात गर्ने तयारी

नेपालको विजुली भारत निर्यात सुरु : मर्स्याङदी, कालीगण्डकी र लिखुको विजुली पनि निर्यात गर्ने तयारी



काठमाडौं । नेपालले भारतमा विजुली निर्यात सुरु गरेको छ । बुधबारदेखि यो बर्ष पहिलोपटक नेपाल विद्युत प्राधिकरणले भारतमा विजुली निर्यात थालेको हो । बुधबार राति १२ बजेबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको विजुली भारतलाई विक्री गर्न थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बिजखबरलाई बताए । उनका अनुसार आगामी दिनमा अझै निर्यात बढाउने गरी प्राविधिक तयारी भइरहेको छ ।

अहिले प्राधिकरणले प्रतिदिन ९६ ब्लकमा नेपालबाट विजुली पठाउन सुरु गरेको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र प्रतिदिन ९६ ब्लक हुन्छन् । सोही अनुसार विजुलीको मूल्य पनि फरकफरक हुन्छ । आज औसतमा नेपालबाट भारतमा विजुली प्रतियुनिट ६.३० भारतीय रुपैयाँमा विक्री भइरहेको छ । यो मूल्य घटबढ भइरहन्छ ।

नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट फुल फेजमा विद्युत उत्पादन हुनथाले पछि भारतबाट आयात हुने विजुलीको मात्रा घटाई निर्यात सुरु गरेको थियो । नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरु नदी प्रवाही (रन अफ द रिभर) मोडलमा भएकाले बर्खायाममा बढी विजुली उत्पादन भई खेरजाने अवस्था हुन्छ भने हिउँदमा उत्पादन न्यून हुन्छ र आयात गर्नुपर्ने बाध्यता हुन्छ ।

सोहीअनुसार पछिल्लो समय चाँडै धेरै बर्षा भएपछि नदी प्रवाही जलविद्युत आयोजनामा पानीको मात्रा बढेर उत्पादन बढेको हो । यसरी बढेको उत्पादन नेपालमा बढी भएकाले बुधबार रातिदेखि भारतको इन्डियन इनर्जी एक्सचेन्जमा विक्री गर्न सुरु गरिएको हो ।

त्रिशुली नदीका दुई आयोजना त्रिशुली र देवीघाट आयोजनाबाट उत्पादित विजुली पहिलो चरणमा निर्यात गरेपनि आगामी साउनसम्म मर्स्याङदी

, लिखु, कालीगण्डकी जलविद्युत आयोजनाको विजुली पनि निर्यात गर्ने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । यसका लागि प्राविधिक तयारी भईरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL